News Portal

  • रानिकोट–ध्याम्पैडाँडा सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आक्रोशित

    दोलागिरि संवाददाता२०८३ बैशाख २४
    ९४ पटक

    भक्तपुर–काभ्रे जोड्ने महत्वपूर्ण वैकल्पिक मार्ग ध्याम्पैडाँडा–रानिकोट सडक निर्माण कार्य लामो समयसम्म अलपत्र पर्दा स्थानीयवासी, व्यवसायी तथा यात्रुहरू आक्रोशित बनेका छन्। गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले उक्त सडक स्तरोन्नतिका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरी रातो किताबमा समेत प्रकाशित गरे पनि हालसम्म काम सुरु नभएको भन्दै स्थानीयले गम्भीर चासो व्यक्त गरेका छन्।
    उक्त सडक भक्तपुर हुँदै काभ्रेको पनौती जाने छोटो मार्गका रूपमा परिचित छ भने ललितपुरको लाकुरीभञ्ज्याङसँग समेत जोडिने रणनीतिक महत्वको सडक हो। स्थानीयका अनुसार सडक निर्माणका लागि करिब १.५ किलोमिटर भाग मात्रै बाँकी रहे पनि सम्बन्धित निकायको बेवास्ताका कारण काम अघि बढ्न सकेको छैन।
    हाल काभ्रेको पनौतीतर्फबाट रानिकोटसम्म सडक कालोपत्रे भइसकेको छ। तर भक्तपुरतर्फको खण्ड निर्माण हुन नसक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ। विशेषगरी साँगा सडक निर्माणका कारण वैकल्पिक मार्गको रूपमा पनौतीका हजारौं नागरिकले यही सडक प्रयोग गरिरहेका छन्।
    पर्यटन व्यावसायिक तथा समाजसेवि रामसुन्दर बेकेका अनुसार   रानिकोट पछिल्लो समय उपत्यकाको चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। ऐतिहासिक गढी अवलोकन, प्राकृतिक दृश्य तथा धार्मिक आस्थाका केन्द्र प्राकृतिक भैरव मन्दिर दर्शनका लागि दैनिक सयौंदेखि हजारौं मानिसहरू यहाँ पुग्ने गरेका छन्। सडकको सहज पहुँचका कारण यस क्षेत्रमा साना–ठूला होटल तथा व्यवसाय विस्तार हुँदै गएको छ।
    त्यसैगरी काभ्रेको पनौती–१ क्षेत्रमा खुलेका ट्राउट फर्म, कृषि उत्पादन तथा बेथानचोक गाउँपालिकास्थित च्याग्रमबेसीको मडानी डेरीको दूधसमेत यही सडकमार्फत काठमाडौं उपत्यकामा पुग्ने गरेको स्थानीय बताउँछन्। सडक सञ्चालनले स्थानीय स्वरोजगार सिर्जना तथा कृषि व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुगेको छ।
    तर सडक स्तरोन्नति नहुँदा व्यवसाय सञ्चालन, दैनिक आवतजावत तथा वर्षायाममा विद्यालय जाने बालबालिकाहरूलाई ठूलो समस्या भइरहेको स्थानीयको भनाइ छ। धुलाम्मे तथा हिलाम्मे सडकका कारण दुर्घटनाको जोखिमसमेत बढ्दै गएको उनीहरूको गुनासो छ।
    स्थानीयवासी तथा होटल व्यवसायीहरूले भक्तपुरका जनप्रतिनिधि र सम्बन्धित सरकारी निकायले यस क्षेत्रलाई “सौताको व्यवहार” नगरी तत्काल सडक निर्माण कार्य अघि बढाउन माग गरेका छन्। आर्थिक वर्ष सकिन लाग्दासमेत बजेट कार्यान्वयन नभएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रतिकृया दिनुहोस्