News Portal

  • अंगदान र प्रत्यारोपण सेवाको महत्त्वमा जनचेतना कार्यक्रम सम्पन्न

    दोलागिरि संवाददाता२०८२ साउन २९
    २७७ पटक

    भक्तपुर, साउन २८ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २०८२ साउन २८ गते विश्व अंगदान दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।

    उद्घाटन समारोहमा मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि हुने अंगदानलाई प्रोत्साहित गर्न आवश्यक रहेको बताउँदै यसले धेरैको जीवन बचाउन ठूलो योगदान पुर्‍याउने उल्लेख गरे। उनले प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको र स्वास्थ्य सेवा गुणस्तरीय, सस्तो तथा विश्वसनीय बनाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए। साथै, स्वास्थ्य बीमा विस्तार, क्यान्सर परीक्षणका लागि अत्याधुनिक उपकरण स्थापना, र सरकारी अस्पतालहरूमा दक्ष जनशक्ति उपलब्ध गराउने विषयमा सरकारको ध्यान केन्द्रित भइरहेको बताए।

    कार्यक्रममा नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवाल, प्रतिनिधिसभा सांसद दुर्लभ थापा, र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रत्यारोपण केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्नुपर्ने, बिरामीको चाप व्यवस्थित गर्न दीर्घकालीन योजना बनाउने, र अंगदान–प्रत्यारोपणबारे जनस्तरमा सचेतना फैलाउनुपर्नेमा जोड दिए।

    अस्पतालका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण सेवाले बिरामीलाई आर्थिक तथा मानसिक राहत दिइरहेको र यसलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको बताए। कार्यक्रममा अंगदाता र अंग ग्रहणकर्ताका प्रतिनिधिहरूले आफ्ना अनुभव तथा प्रेरणादायी कथाहरू पनि साझा गरेका थिए।

    प्रतिकृया दिनुहोस्