Skip

News Portal

  • नेपाल औषधी उत्पादक संघको ३० औँ साधारणसभा सम्पन्न,

    दोलागिरि संवाददाता२०८१ भाद्र २९
    ११२ पटक

    २८ भदौ, काठमाडौं । नेपाल औषधी उत्पादक संघको ३० औँ साधारणसभा बिहिबार सम्पन्न भएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदीप पौडेलले संविधानमा किटान भएबमोजिम नागरिक स्वास्थ्यलाई सरकारले सबैभन्दा बढी प्राथमिकतामा राखेको छ भन्दै सबै कुराको केन्द्रमा नागरिक हुनुपर्छ भन्ने बताए । स्वदेशमै औषधि उत्पादन हुन्छ भने सरकारले सबैभन्दा महत्त्व त्यसैलाई दिने वाचा गर्दै फेरि पनि प्रधान कुरा चाहिँ नागरिक नै हुनुपर्छ भन्ने विषयमा उनको जोड थियो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आफू हरदम तयार भएको उनले खुलासा गरे ।

    औषधिको गुणस्तरीयतालाई ध्यान दिनुपर्छ र नाम उच्चारण हुनासाथ त्यो गुणस्तरीय छ भन्ने सन्देश जानुपर्ने तर्क गर्दै फेरि प्रश्न उठिरहेकोमा उनले चिन्ता व्यक्त गरे । शिक्षा र स्वास्थ्य निस्सन्देह राज्यको दायित्व भएको जिकिर गर्दै स्वास्थ्य र शिक्षाका सबै कुरा नागरिकको पक्षमा हुनुपर्छ भन्ने कुरामा जोड दिए । आफ्नो र आफ्नो उद्योगको मात्र नभएर नागरिकको चिन्ता गर्न उनले नेपाल औषधि उत्पादक सङ्घलाई सुझाए । औषधि उत्पादक सङ्घलाई चिढ्याउने आफ्नो कुनै रहर नभएको दाबी गर्दै जीडीपीमा समेत यसले योगदान गरेकाले एकापसमा सहकार्य र हातेमालो गर्न उनले सङ्घलाई आग्रह गरे ।

    कार्यक्रममा बोल्दै नेपाल औषधी उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालका औषधि उद्योगमा ७०–८० अर्ब लगानी भएको तर त्यो अनुसार व्यापार नहुँदा घाटा व्यहोर्न बाध्य भएको गुनासो प्रधानको छ । उनले ४० वर्ष पहिले औषधि उद्योग खोल्ने लहर भएजस्तै अहिले निरन्तर बन्द हुने क्रम चलिरहेको उनले बताए । ‘नेपाली औषधि उद्योगको व्यापार पनि निरन्तर ओरालो लागिरहेको छ ७०–८० अर्व लगानी छ तर व्यापार ३५ अर्वबाट घटेर २९ अर्वमा खुम्चिएको छ,’ प्रधानले भने । नेपालमा लामो समय औषधिको मूल्य वृद्धि नहुँदा पनि उद्योगी मारमा परेको प्रधानको दावी छ ।

    ८०–८५ ओटा औषधी उद्योगबाट क्रमशः घटेर ४०–४५ ओटामा आएको हुँदा अहिलेकै क्रममा उद्योग बन्द भइरहने हो भने केही वर्षमै ८–१० उद्योग मात्रै बाँकी रहने उनले बताए । राज्यले सहयोग गरिदिएमा उद्योगलाई टिक्न सहज हुने प्रधानको भनाई छ । ‘राज्यले अलिकति माया गर्दियो, अलिकति हेर्दियो भने अगाडि जान सकिन्छ’ प्रधानले भने ।

    प्रतिकृया दिनुहोस्