News Portal

  • समवेत स्वरमा ‘विद्रोहको गीत’ गाउनेसँग

      तेजविलास अधिकारी२०८३ जेठ १६
    ३० पटक

    विद्रोह जनताको अधिकार हो। विद्रोह राज्यको दमनको प्रतिरोधस्वरूप उत्पन्न हुने अवस्था हो। राजनीतिक रूपमा सचेत नागरिक एक्लै पनि केही गरिरहन्छन्। एकबाट दुई वा तीन हुँदै जाँदा त्यही चेतनालाई सिर्जनामा बदल्दै आवाज बुलन्द पार्दछन्। वर्गीय मुक्ति यात्राका सिपाहीहरू यही कर्मलाई आफ्नो पहिलो खुट्किलो मान्दछन्। असजिलो यात्रामा पनि सजिलै हिँड्दछन्। जीवनलाई हत्केलामा लिएर हिँड्नेहरूका लागि त स्वतन्त्रताको जग भन्नु विद्रोहको आवाज हो, सङ्गीत भन्नु वर्गीय समानताको गीत हो। गीत लेख्ने क्रम रोकिँदैन र गाउने क्रम पनि अन्त्य हुँदैन। जति प्रतिकूल समय भयो, गीत त्यति नै घन्काउनुपर्छ। त्यसैले त साहित्यलाई माक्र्सवादीहरूले समाज परिवर्तन गर्ने औजार मान्दछन्। माओले सांस्कृतिक क्रान्तिका माध्यमबाट राज्य परिवर्तनको गुणात्मक यात्रालाई अगाडि बढाए।

    विचारयात्राका एक यात्री हुन् कुशल बोगटी। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा जन्मिएका उनले सानै उमेरदेखि घर छोडे। जनयुद्धको प्रभावले उनको जीवनलाई गहिरो रूपमा प्रभावित पार्‍यो। जनयुद्ध र जनआन्दोलनको संगम २०६२/०६३ सालको आन्दोलनपछि पनि उनी आन्दोलित भइरहे। समाज गुणात्मक रूपमा नफेरिएसम्म एउटा राजनीतिक प्राणी नथाकीकन अगाडि बढिरहनुपर्छ भन्ने भावलाई उनले जीवन व्यवहारमा उतारेको देखिन्छ।

    सुरु–सुरुमा राजनीति बढी र साहित्य कम लाग्ने उनका साहित्यिक रचनाहरू पछिल्लो समय राजनीति र कलाको संगम बनेर देखिन थालेका छन्। २०६० को दशकबाटै आफूलाई साहित्य लेखन र सङ्गठनमा सक्रिय तुल्याएका कुशलले सांस्कृतिक मोर्चाका विविध रङ जनमानसबाट लिएका छन्। उनले २०६५ सालमा ‘श्रीपेचको चिहानमाथि उभिएर’ कवितासङ्ग्रह प्रकाशनमा ल्याए। उनको दोस्रो कवितासङ्ग्रह ‘विद्रोहको गीत’ (२०८२) प्रकाशनमा आइसकेको छ। कविता साधनाको मात्र कुरा गर्ने हो भने दुई दशक लामो लेखन र प्रकाशन यात्रा तय गरेका कुशल जनसांस्कृतिक यात्राका एक अथक यात्री हुन्।

    उनको दोस्रो कवितासङ्ग्रह ‘विद्रोहको गीत’ भित्रका कविताहरूको मात्र यस लेखमा चर्चा गरिएको छ। कवि कुशल बोगटीको कवितासङ्ग्रह ‘विद्रोहको गीत’ (२०८२) भित्र जम्मा ४६ ओटा कविताहरू सङ्गृहीत रहेका छन्। आफ्नो पहिलो कवितासङ्ग्रह ‘श्रीपेचको चिहानमाथि उभिएर’ (२०६५) कै प्रवृत्तिलाई निरन्तरता दिँदै कवितामा कला पक्षलाई समेत ध्यान पुर्‍याउँदै अगाडि बढेका कविले छोटा तर स्पष्ट गद्यात्मक तथा लयात्मक शैलीमा समसामयिक तर जनमुखी विचारलाई कवितामार्फत् पाठकसमक्ष पुर्‍याएका छन्।

    कुशल जुन आस्थासँग सम्बन्धित छन्, त्यही सङ्गठनको उच्च नेतृत्वको मन्तव्य र लामो साधना गरेका कवि एवं सांस्कृतिक योद्धा अनिल शर्माको भूमिका आफ्नो सङ्ग्रहमा राखेकाले पनि उनले चाहेको समाज निर्माण यात्राको धार प्रस्ट हुन्छ। कवि दुई दशकदेखि काठमाडौं उपत्यकालाई कर्मक्षेत्र बनाएर आफ्नो राजनीतिक यात्रा सांस्कृतिक कर्ममार्फत् प्रस्तुत गरिरहेका छन्। कवि कुशल बोगटी सांस्कृतिक मोर्चाका एक सक्रिय सदस्य हुन् भने उनले आफूलाई पत्रकारिता र राजनीतिक सङ्गठकका रूपमा पनि परिचित तुल्याइरहेका छन्।

    टुटफुट र आरोप–प्रत्यारोपले ग्रस्त कम्युनिस्ट पार्टीहरूको शुभचिन्तक हुनु त गाह्रो छ भने सक्रिय कार्यकर्ता भएर गणतन्त्रकालमा पनि धरपकडको सिकार बन्नु निकै कठिन यात्रा हो। सङ्घर्षविना सिर्जना जन्मने कुरा सोच्न पनि सकिँदैन। सुकिला हात र आदर्श उच्चारणले केवल चाकरी पस्कन सक्छन्, मुक्तिको वर्गीय यात्रामा सहभागी बन्न सक्दैनन्। कवि कुशल बोगटीका जीवन अनुभवले जनताको विद्रोहको अधिकारलाई बन्देज लगाउने प्रत्येक प्रतिबन्धका जङ्गे कानुन किमार्थ स्वीकार्य नभएको उद्घोष गरेका छन्।

    जुन दिनदेखि प्रतिबन्धित भएका छन् आवाजहरू
    त्यही दिनदेखि झन् ठूलो स्वरमा बज्न थालेका छन् बिगुलहरू।
    (पृ. २६, ‘प्रतिबन्ध’)

    व्यक्ति स्वार्थको नाङ्गो पसल थापेर जनताको सडक पेटीमा हिँड्ने अधिकारलाई कुण्ठित पार्नेहरूप्रति उनको गम्भीर असहमति छ। जनता त सडकमा सजिलै हिँड्ने हैसियत राख्छन्। विचारका लक्ष्यदर्शी योजना बनाएर बस्तीलाई ब्युँझाउनु उसको कर्तव्य नै हो। राज्यले हरेक समस्याको समाधानको उपाय नअपनाएसम्म र जनताको विचारको सम्मान नगरेसम्म आन्दोलनबीच तीव्र सङ्घर्ष हुने कुरालाई कवि सहज रूपमा स्वीकार गर्दछन्। सङ्घर्षमा भाग लिएवापत् आइपर्ने जस्तोसुकै जटिल यात्राका खुट्किलाहरू तोडेर अगाडि बढ्ने उनको उद्घोष छ।

    थुनेका थियौ ग्राम्स्कीलाई
    थुनिएन विचारको प्रवाह
    थुनेका थियौ गोन्जालोलाई
    बाघझैँ गर्जिएर नझुकेरै मर्‍यो
    यातना दिएका थियौ इच्छुकलाई
    खरानी बन्यो तर झुकेन।
    (पृ. ३२, ‘हत्कडी’)

    संसारको स्वतन्त्रताको केही उदाहरण प्रस्तुत गर्दै कवि थुनेर विचार नथुनिने कुरा बताउँछन्। बरु नदीलाई व्यवस्थित ढङ्गले थुन्दा जलप्रवाहबाट शक्तिशाली ऊर्जा पैदा भएझैँ, नालायक शासकहरूको दमनको प्रत्येक कदमले योद्धाहरूलाई झन् दृढ बनाउने उद्घोष गर्दछन्।

    जनतालाई आन्दोलनमा लाग्न प्रेरित गर्दै अगाडि बढेका आफू संलग्न सङ्गठनलाई राज्यले लगाएको निषेधका सन्दर्भमा उनले थुप्रै कविता लेखेका छन्। उनका रचनाले एउटा खास घटनाको मात्र सन्दर्भ नबोकी व्यापक राजनीतिक अर्थ बोकेको कुरा उनले प्रस्तुत गरेका भाषा र शैलीबाट पुष्टि हुन्छ। सङ्घर्षशील योद्धाको यात्रा र सङ्घर्षका दैनिक डायरीहरू नै सिर्जनाका स्रोत हुन्, स्वतन्त्रताका मुहान हुन्।

    २०६० को दशकले राजनीति, दर्शन र यात्रामा धोका मात्र दिएको छैन, यसले एउटा नवीन पाठसमेत पढाएको छ भन्ने कुरालाई कविले फरक ढङ्गले प्रस्तुत गरेका छन्—

    यो घुम्ती हो
    आफ्नै आदर्शको चिहानमा सुतेका सहिदका लागि
    फेरि पनि सहिद हुन
    नयाँ सङ्कल्प गर्नु।
    (पृ. ९७, ‘घुम्तीहरू’)

    एउटा धोकाले धेरै पाठ पढाउने विषयलाई कवि पटक–पटक दोहोर्‍याउँछन्। कवि कुशलले आफूले तय गरेको यात्रा क्षणिक न्यानो सत्ताका लागि नभई जीविकोपार्जनको उपाय हराएका, राज्यले दलन र दमनमा पारेका वर्ग र समुदायका लागि भएको कुरा समेत उद्घाटन गर्न पुग्दछन्।

    कवि वैज्ञानिक विचार लिएर हिँडेको भन्नेहरूले आफ्नो व्यवहारलाई बदल्न नसकेकोप्रति ‘रातो बर्को ओढेर’ कवितामा निकै रोचक ढङ्गले टिप्पणी गर्दछन्। क्रान्तिकारी विचार लिनु र क्रान्तिकारी हुनु भनेको अनुकूल अवस्थामा मात्र होइन, प्रतिकूल व्यवस्थामा पनि जनतालाई जागृति राग गाउँदै जगाउने कर्ममा लाग्नु हो भन्छन्।

    सबै दमन झेल्नु
    उद्देश्य प्राप्तिको यात्रा नछाड्नु हो
    अन्तिम लक्ष्य नआउन्जेल
    हिँडिरहनु हो
    लडिरहनु हो।
    (पृ. ६४, ‘क्रान्तिकारी हुनु’)

    नेपाली जनतामा आएको राजनीतिक चेतले अब निरङ्कुश शासकहरूलाई कुनै पनि हालतमा मनलाग्दी गर्न नदिने र एक दिन जनताले न्याय र समानताको युद्ध जित्ने कुरा उनका कविताहरूमा प्रस्तुत रहेका छन्। न्यायलाई बुर्जुवाहरूले बेचिरहेका छन्। चेतनामाथि राज्यले प्रतिबन्ध लगाउन खोज्दैछ। जनताले न्याय बेच्ने बिचौलिया, आफूमात्र मोटाउने शासक र आफ्नो स्वार्थ पूरा गर्न देशलाई बन्धकी राख्ने तथाकथित नेताप्रति खबरदारीको भाषा समेत प्रस्तुत गरेको छ।

    मान्छेको टाउको बोकेका
    सामूहिक आत्महत्याका लागि हिँडिरहेका छन् मुसाहरू
    र लेमिङ सिन्ड्रोमग्रस्त छ सहर।
    (पृ. ४९, ‘मुसाहरू’)

    कवि आधुनिक विम्बहरूलाई निकै प्रभावशाली ढङ्गले प्रस्तुत गर्दछन्। अर्थ नलाग्ने शब्दहरू थोपरेर कविता लेख्ने कलावादी लेखकहरूलाई राम्रैसँग थप्पड हान्न सक्ने रचना उनको कलमले लेखिरहेको छ। अनुभवको आयतनमा उनिएका उनका शब्दहरूले सङ्घर्षपूर्ण जीवन बाँचेका मानिसहरूलाई विचार र सङ्गठनमा जोडिए जीवनयात्रा सफल बन्ने कुरा सुझाएका छन्।

    आफूले टेकेको धरतीमा आफ्नो अधिकार खोज्न भुल्न नहुने कुरालाई उनी पटक–पटक दोहोर्‍याउँछन्। जसरी आगो जीवन यात्रामा नभई नहुने कुरा हो, त्यसैगरी विचाररूपी आगोले मात्र मान्छेको खिया परेको दिमागलाई सफा गरेर समानताको यात्रामा एकजुट हुन उत्साहित गर्दछ।

    अलिकति चट्याङबाट
    अलिकति दर्शन ढुङ्गाबाट
    अलिकति बारुदबाट सापटी लिएर
    बनेको छु
    यो युगको आगो।
    (पृ. ५४, ‘आगो’)

    कवि कवितामा आगोलाई समाज परिवर्तनको एउटा महत्वपूर्ण अङ्ग भएको कुरा सचेततापूर्वक प्रस्तुत गर्दछन्। कवि वर्गीय यात्रामा समेट्नुपर्ने निम्न वर्गका पात्रलाई शिक्षित तुल्याउनुभन्दा धोकेबाजहरूलाई गाली गर्न समय र शब्द खर्च गरिरहेझैँ प्रतीत हुन्छ। सायद धोकाले व्यक्ति जीवनलाई मात्र होइन, क्रान्तियात्रालाई पनि निकै क्षति पुर्‍याउने रहेछ। अधिकांश कवितामा धोका, क्रान्ति र राजनीति कलात्मक रूपमा प्रवेश गरेर आएका छन्। यद्यपि कतिपय कवितामा कुण्ठा बोलेजस्तो भाव पनि भेटिन्छ।

    ‘विद्रोहको गीत’मा समयको आवाज छ। विद्रोहविना मानिस आफ्नो परिचय गुमाउँछ। संसारमा विद्रोहले निर्माण गरेको चेतनाको फैलावट र शक्ति मापन गर्न सकिने खालको छैन। विद्रोह केका लागि भन्ने विषय प्रधान हुने भएकाले विद्रोहलाई राज्य निर्माण र जनपक्षमा ढाल्न सके मात्र उपलब्धिपूर्ण हुने कुरा कविताहरूले बोलेका छन्।

    नेपाली समाज र सिङ्गो विश्व नै दलाल पुँजीवाद, साम्राज्यवाद र डलरे मानवअधिकारवादले ग्रस्त पारेको स्थितिमा सचेत भएर आफ्नो अधिकारका निम्ति सङ्गठित यात्रा तयार गर्नु नै आजको आवश्यकता हो। राज्य प्रणाली नै बिचौलियाको कब्जामा रहेको समयमा माक्र्सवादी विचारमा आस्था राख्ने र समाजलाई गुणात्मक परिवर्तन गर्न चाहनेहरू एकजुट हुनुपर्ने सन्देश उनका रचनाहरूले दिएका छन्।

    ‘विद्रोहको गीत’ कवितासङ्ग्रहमा सङ्कलित कविताहरूले जनताको पक्षमा लड्नेहरू जनताले स्थापना गरेको व्यवस्था नआएसम्म थाक्न नहुने विचारलाई मुखर रूपमा व्यक्त गरेका छन्। यही नै समग्र कवितासङ्ग्रहको सार हो।

    प्रतिकृया दिनुहोस्