News Portal

  • भोटेकोशी बाढीपीडितका लागि मध्यपुर थिमिले ५१ लाखभन्दा बढी सहयोग गर्ने

    दोलागिरि संवाददाता२०८३ भाद्र १२
    १४ पटक

    भक्तपुर । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि मध्यपुर थिमि नगरपालिकाले ५१ लाख १ सय ५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

    नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको ५२औँ बैठकले बाढीपीडितका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। निर्णयबारे जानकारी दिँदै नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले विपद्को कठिन समयमा स्थानीय तहको तर्फबाट राज्यको विपद् प्रतिकार्य अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले रकम जुटाउन लागिएको बताए।

    नगरपालिकाको निर्णयअनुसार सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको सुविधा विपद् राहतका लागि उपलब्ध गराइनेछ। त्यसैगरी नगरपालिका तथा मातहतका कर्मचारी र शिक्षकको तहअनुसार क्रमशः २, ४ र ७ दिनको पारिश्रमिक कट्टा गरी राहत कोषमा जम्मा गरिने जनायको छ ।

    जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट करिब ३० लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। त्यसबाट अपुग हुने रकम नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जानकारी दिएका छन्। मध्यपुर थिमि नगरपालिकामा शिक्षक तथा कर्मचारी गरी करिब ५ सय ५० जना कार्यरत रहेका  छन्।

    बैठकले भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण बेपत्ता भएका नागरिकको तत्काल खोजी, सकुशल उद्धार तथा घाइतेको प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

    नगर प्रमुख श्रेष्ठले विपद्का बेला राज्यलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउदै मध्यपुर थिमि नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरी विपद् प्रतिकार्यमा ऐक्यबद्धता जनाएकाले यसले नगरवासीलाई समेत आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
    यसैबीच, भोटेकोशी बाढीमा परी मध्यपुर थिमिका एक जना नागरिक सम्पर्कविहीन रहेका छन् भने एक जनाको मृत्यु भएको नगरपालिकाले जनाएको छ। भक्तपुर जिल्लाबाट समेत १६ जना नागरिक सम्पर्कविहीन रहेको बताइएको छ।

    बाढीले रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि उद्धार, राहत र बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउन माग भइरहेको छ। स्थानीय तह, नागरिक समाज तथा विभिन्न संघसंस्थाले समेत विपद् प्रभावितको उद्धार र राहतका लागि सहयोगको पहल अघि बढाएका छन्।

    प्रतिकृया दिनुहोस्