News Portal

  • रानीपोखरी : जोगिएको ईतिहास, मासिएको प्राकृतिक सम्पदा

    दोलागिरि संवाददाता२०८३ बैशाख ३१
    ६० पटक

    भक्तपुर जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित रानीपोखरी केवल एउटा पोखरी मात्र होइन, यो मल्लकालीन सभ्यता, वास्तुकला, सुरक्षा प्रणाली, प्रशासनिक दूरदृष्टि र प्राकृतिक सौन्दर्यको जीवित इतिहास हो। धेरैजसो मानिसले “रानीपोखरी” भन्नेबित्तिकै काठमाडौँको रानीपोखरी सम्झन्छन्, जुन तत्कालीन कान्तिपुरका राजाले आफ्नो पुत्रको मृत्युको शोकमा निर्माण गरेका थिए। त्यसैले त्यहाँ राजा, रानी र राजकुमारको सालिक राखिएको छ। पाल्पाको रानीमहल पनि आफ्नी रानीको सम्झनामा बनेको ऐतिहासिक दरबार हो। आज पनि नेपालमा नेताहरूको नामबाट सडक, अस्पताल, प्रतिष्ठान र संरचनाहरू नामकरण गर्ने चलन छ—जस्तै गणेशमान प्रतिष्ठान, मदन भण्डारी राजमार्ग, मदन भण्डारी अस्पताल आदि। सम्भवतः मल्लकालमा पनि प्रिय रानीहरूको नामबाट रानीपोखरी, रानीपौवा, रानीकोट, रानीखोला, रानीदरबार, रानीधारा, रानीबास जस्ता संरचनाहरू निर्माण गरिन्थे।
    भक्तपुरको रानीपोखरी पनि त्यही ऐतिहासिक परम्पराको एउटा जीवन्त उदाहरण हो। यो कुनै मृत आत्माको शान्तिका लागि वा रानीको सम्झनामा मात्र बनाइएको संरचना होइन, बरु तत्कालीन भक्तपुर राज्यको प्रवेशद्वार, सुरक्षा चौकी, भन्सार तथा विशिष्ट पाहुनालाई स्वागत गर्ने स्थलका रूपमा यसको ऐतिहासिक भूमिका रहेको देखिन्छ। पश्चिमबाट भक्तपुर प्रवेश गर्ने व्यापारी, पाहुना वा यात्रुलाई पहिलोपटक यही क्षेत्रमा जाँच गरिन्थ्यो। राजाका विशेष पाहुनालाई दरबारभित्र बोलाउने वा नबोलाउने निर्णय यही स्थानबाट तय हुन्थ्यो भन्ने स्थानीय जनविश्वास छ।
    पोखरी वरिपरि निर्माण गरिएका चारवटा कलात्मक ढोकाहरू, बैठक हल र पश्चिम क्षेत्र अवलोकन गर्न मिल्ने संरचनाले यो केवल धार्मिक वा सौन्दर्यात्मक निर्माण मात्र नभई रणनीतिक दृष्टिले पनि महत्वपूर्ण स्थान रहेको प्रमाणित गर्छ। भक्तपुर मल्ल राजाहरूको मूल राजधानी भएकाले काठमाडौँको रानीपोखरीभन्दा पहिले यो निर्माण भएको हुनसक्ने अनुमान पनि गरिन्छ।

    तर आज म इतिहासभन्दा बढी यसको सौन्दर्यबारे लेख्न चाहन्छु। केही दिनअघि रानीपोखरी पुग्दा मैले यो पोखरीलाई साँच्चै “रानी” जस्तै देखेँ। पोखरी वरिपरि फुलेका ज्याकारिन्दाका बैजनी फूलहरूले यसलाई दुलहीझैँ सिंगारेका थिए। सिरसिर हावामा हल्का झुलिरहेका ती फूलहरूले पोखरीको सौन्दर्यलाई अझ मोहक बनाएका थिए। पोखरीको पानी पूर्ण रूपमा स्वच्छ नभए पनि वरिपरिको हरियाली, फूल, रूख र ऐतिहासिक वातावरणले यसलाई स्वर्गको एउटा टुक्रा बनाएको अनुभव भयो।
    “आहा रानीपोखरी!
    आहा मेरो पुर्खाको इतिहास!”
    त्यहाँ पुग्दा आफ्ना पुर्खाप्रति गर्व जाग्छ। तर सँगै एउटा पीडा पनि महसुस हुन्छ—यति सुन्दर ऐतिहासिक र प्राकृतिक सम्पदा लामो समयसम्म सैनिक क्याम्प बनेर थुनिएको थियो। अहिले भक्तपुर नगरपालिकाले, स्थानीय समुदायले र कुलदेवता पूजा गर्ने गुठीहरूले मिलेर यसलाई पुनर्निर्माण गरी जनताका लागि खुला बनाएका छन्। मल्लकालीन वास्तुकलाको झल्को दिने गरी पुनर्निर्माण गरिएको यो पोखरी नयाँ पुस्तालाई इतिहाससँग जोड्ने एउटा सुन्दर प्रयास बनेको छ। यसका लागि भक्तपुर नगरपालिकालाई धन्यवाद दिनैपर्छ। यो क्षेत्र भक्तपुर पर्यटनको एउटा नयाँ आकर्षण बन्दै गएको थियो। मानिसहरूको भीड बढ्दै थियो। पोखरीको पानी, वरिपरिको वातावरण र ऐतिहासिक सौन्दर्यले जोकोहीलाई मोहित बनाउँथ्यो। अझ आश्चर्य के भने—कुनै स्पष्ट मुहान नभएको पोखरीमा वर्षभरि पानी कसरी रहन्छ भन्ने जिज्ञासा पनि मानिसहरूमा थियो।
    तर यहीँबाट अर्को प्रश्न उठ्छ—हामीले एउटा सम्पदा बचाउने नाममा अर्को सम्पदा त नष्ट गरिरहेका छैनौँ?
    पहिले यो पोखरी प्राकृतिक सिमसार प्रणालीमा आधारित थियो। पानीमा हरियो लेउ थियो, पानीमुनि प्राकृतिक घाँस थियो, स्थानीय हिले माछा थिए। त्यो लेउ र झ्याउ नै प्राकृतिक पानी फिल्टर थिए। पानीमुनिका वनस्पतिले अक्सिजन प्रवाह गर्थे। पानी यति स्वच्छ थियो कि तलको माटोसम्म देखिन्थ्यो। शहरको बीचमा एउटा सजीव जैविक विविधतायुक्त सिमसार क्षेत्र अस्तित्वमा थियो।
    तर आज त्यो प्राकृतिक स्वरूप हराउँदै गएको छ। पोखरीमा व्यवसायिक रूपमा माछा पाल्ने प्रवृत्तिले यसको जैविक सन्तुलन बिगारेको छ। मलाई विद्यालयमा पढेको “चरीको बिलौना” कविता सम्झना आउँछ, जहाँ चरीले सिकारीलाई भन्छे—
    “तिमीले मलाई मारेर तिमीलाई एक छाक पुग्दैन,
    मेरो प्वाँखले तिमीलाई लुगा पनि बन्दैन,
    अनि मलाई किन मार्छौ?”
    ठ्याक्कै त्यस्तै प्रश्न आज रानीपोखरीले हामीलाई गरिरहेको छ। नगरभित्रको पोखरीमा माछा पालेर नगरको विकास हुने होइन। त्यसबाट आउने आम्दानीले पोखरीको हेरचाह गर्ने कर्मचारीको तलबसमेत धान्न सक्दैन भने प्राकृतिक सम्पदा नष्ट गरेर गरिएको यस्तो “विकास” को अर्थ के हो?
    कमलबिनायकको बारेपुखु सफा गर्ने नाममा कमलको फूल हरायो। रानीपोखरीमा प्राकृतिक माछा हटाएर कृत्रिम माछा राखियो। सयौँ वर्षदेखि अस्तित्वमा रहेको स्थानीय हिले माछाको प्रजाति समाप्त भयो। यो केवल एउटा माछाको अन्त्य होइन, यो हाम्रो जैविक सम्पदामाथिको अपराध हो।
    सम्पदा भनेको केवल इँट्टा, काठ, ढुंगा र माटोले बनेका संरचना मात्र होइनन्। सम्पदा भनेको जैविक विविधता पनि हो। पानी, लेउ, घाँस, माछा, चराचुरुङ्गी र सिमसारको जीवन पनि सम्पदा हुन्।
    नेवार समुदायले हरेक वर्ष “सिथि नखः” पर्वमा कुवा, पोखरी र इनार सफा गर्ने परम्परा जोगाएको छ। त्यो केवल सरसफाइ होइन, प्रकृतिप्रतिको सम्मान हो। तर आज रानीपोखरीमा मानव निर्मित सम्पदा जोगियो, प्राकृतिक सम्पदा हरायो।रानीपोखरी : जोगिएको ईतिहास, मासिएको प्राकृतिक सम्पदा
    भक्तपुर जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित रानीपोखरी केवल एउटा पोखरी मात्र होइन, यो मल्लकालीन सभ्यता, वास्तुकला, सुरक्षा प्रणाली, प्रशासनिक दूरदृष्टि र प्राकृतिक सौन्दर्यको जीवित इतिहास हो। धेरैजसो मानिसले “रानीपोखरी” भन्नेबित्तिकै काठमाडौँको रानीपोखरी सम्झन्छन्, जुन तत्कालीन कान्तिपुरका राजाले आफ्नो पुत्रको मृत्युको शोकमा निर्माण गरेका थिए। त्यसैले त्यहाँ राजा, रानी र राजकुमारको सालिक राखिएको छ। पाल्पाको रानीमहल पनि आफ्नी रानीको सम्झनामा बनेको ऐतिहासिक दरबार हो। आज पनि नेपालमा नेताहरूको नामबाट सडक, अस्पताल, प्रतिष्ठान र संरचनाहरू नामकरण गर्ने चलन छ—जस्तै गणेशमान प्रतिष्ठान, मदन भण्डारी राजमार्ग, मदन भण्डारी अस्पताल आदि। सम्भवतः मल्लकालमा पनि प्रिय रानीहरूको नामबाट रानीपोखरी, रानीपौवा, रानीकोट, रानीखोला, रानीदरबार, रानीधारा, रानीबास जस्ता संरचनाहरू निर्माण गरिन्थे।
    भक्तपुरको रानीपोखरी पनि त्यही ऐतिहासिक परम्पराको एउटा जीवन्त उदाहरण हो। यो कुनै मृत आत्माको शान्तिका लागि वा रानीको सम्झनामा मात्र बनाइएको संरचना होइन, बरु तत्कालीन भक्तपुर राज्यको प्रवेशद्वार, सुरक्षा चौकी, भन्सार तथा विशिष्ट पाहुनालाई स्वागत गर्ने स्थलका रूपमा यसको ऐतिहासिक भूमिका रहेको देखिन्छ। पश्चिमबाट भक्तपुर प्रवेश गर्ने व्यापारी, पाहुना वा यात्रुलाई पहिलोपटक यही क्षेत्रमा जाँच गरिन्थ्यो। राजाका विशेष पाहुनालाई दरबारभित्र बोलाउने वा नबोलाउने निर्णय यही स्थानबाट तय हुन्थ्यो भन्ने स्थानीय जनविश्वास छ।
    पोखरी वरिपरि निर्माण गरिएका चारवटा कलात्मक ढोकाहरू, बैठक हल र पश्चिम क्षेत्र अवलोकन गर्न मिल्ने संरचनाले यो केवल धार्मिक वा सौन्दर्यात्मक निर्माण मात्र नभई रणनीतिक दृष्टिले पनि महत्वपूर्ण स्थान रहेको प्रमाणित गर्छ। भक्तपुर मल्ल राजाहरूको मूल राजधानी भएकाले काठमाडौँको रानीपोखरीभन्दा पहिले यो निर्माण भएको हुनसक्ने अनुमान पनि गरिन्छ।
    तर आज म इतिहासभन्दा बढी यसको सौन्दर्यबारे लेख्न चाहन्छु। केही दिनअघि रानीपोखरी पुग्दा मैले यो पोखरीलाई साँच्चै “रानी” जस्तै देखेँ। पोखरी वरिपरि फुलेका ज्याकारिन्दाका बैजनी फूलहरूले यसलाई दुलहीझैँ सिंगारेका थिए। सिरसिर हावामा हल्का झुलिरहेका ती फूलहरूले पोखरीको सौन्दर्यलाई अझ मोहक बनाएका थिए। पोखरीको पानी पूर्ण रूपमा स्वच्छ नभए पनि वरिपरिको हरियाली, फूल, रूख र ऐतिहासिक वातावरणले यसलाई स्वर्गको एउटा टुक्रा बनाएको अनुभव भयो।
    “आहा रानीपोखरी!
    आहा मेरो पुर्खाको इतिहास!”
    त्यहाँ पुग्दा आफ्ना पुर्खाप्रति गर्व जाग्छ। तर सँगै एउटा पीडा पनि महसुस हुन्छ—यति सुन्दर ऐतिहासिक र प्राकृतिक सम्पदा लामो समयसम्म सैनिक क्याम्प बनेर थुनिएको थियो। अहिले भक्तपुर नगरपालिकाले, स्थानीय समुदायले र कुलदेवता पूजा गर्ने गुठीहरूले मिलेर यसलाई पुनर्निर्माण गरी जनताका लागि खुला बनाएका छन्। मल्लकालीन वास्तुकलाको झल्को दिने गरी पुनर्निर्माण गरिएको यो पोखरी नयाँ पुस्तालाई इतिहाससँग जोड्ने एउटा सुन्दर प्रयास बनेको छ। यसका लागि भक्तपुर नगरपालिकालाई धन्यवाद दिनैपर्छ।
    यो क्षेत्र भक्तपुर पर्यटनको एउटा नयाँ आकर्षण बन्दै गएको थियो। मानिसहरूको भीड बढ्दै थियो। पोखरीको पानी, वरिपरिको वातावरण र ऐतिहासिक सौन्दर्यले जोकोहीलाई मोहित बनाउँथ्यो। अझ आश्चर्य के भने—कुनै स्पष्ट मुहान नभएको पोखरीमा वर्षभरि पानी कसरी रहन्छ भन्ने जिज्ञासा पनि मानिसहरूमा थियो।
    तर यहीँबाट अर्को प्रश्न उठ्छ—हामीले एउटा सम्पदा बचाउने नाममा अर्को सम्पदा त नष्ट गरिरहेका छैनौँ?
    पहिले यो पोखरी प्राकृतिक सिमसार प्रणालीमा आधारित थियो। पानीमा हरियो लेउ थियो, पानीमुनि प्राकृतिक घाँस थियो, स्थानीय हिले माछा थिए। त्यो लेउ र झ्याउ नै प्राकृतिक पानी फिल्टर थिए। पानीमुनिका वनस्पतिले अक्सिजन प्रवाह गर्थे। पानी यति स्वच्छ थियो कि तलको माटोसम्म देखिन्थ्यो। शहरको बीचमा एउटा सजीव जैविक विविधतायुक्त सिमसार क्षेत्र अस्तित्वमा थियो।
    तर आज त्यो प्राकृतिक स्वरूप हराउँदै गएको छ।
    पोखरीमा व्यवसायिक रूपमा माछा पाल्ने प्रवृत्तिले यसको जैविक सन्तुलन बिगारेको छ। मलाई विद्यालयमा पढेको “चरीको बिलौना” कविता सम्झना आउँछ, जहाँ चरीले सिकारीलाई भन्छे—
    “तिमीले मलाई मारेर तिमीलाई एक छाक पुग्दैन,
    मेरो प्वाँखले तिमीलाई लुगा पनि बन्दैन,
    अनि मलाई किन मार्छौ?”
    ठ्या आज रानीपोखरीले हामीलाई गरिरहेको छ। नगरभित्रको पोखरीमा माछा पालेर नगरको विकास हुने होइन। त्यसबाट आउने आम्दानीले पोखरीको हेरचाह गर्ने कर्मचारीको तलबसमेत धान्न सक्दैन भने प्राकृतिक सम्पदा नष्ट गरेर गरिएको यस्तो “विकास” को अर्थ के हो?
    कमलबिनायकको बारेपुखु सफा गर्ने नाममा कमलको फूल हरायो। रानीपोखरीमा प्राकृतिक माछा हटाएर कृत्रिम माछा राखियो। सयौँ वर्षदेखि अस्तित्वमा रहेको स्थानीय हिले माछाको प्रजाति समाप्त भयो। यो केवल एउटा माछाको अन्त्य होइन, यो हाम्रो जैविक सम्पदामाथिको अपराध हो।
    सम्पदा भनेको केवल इँट्टा, काठ, ढुंगा र माटोले बनेका संरचना मात्र होइनन्। सम्पदा भनेको जैविक विविधता पनि हो। पानी, लेउ, घाँस, माछा, चराचुरुङ्गी र सिमसारको जीवन पनि सम्पदा हुन्।
    नेवार समुदायले हरेक वर्ष “सिथि नखः” पर्वमा कुवा, पोखरी र इनार सफा गर्ने परम्परा जोगाएको छ। त्यो केवल सरसफाइ होइन, प्रकृतिप्रतिको सम्मान हो। तर आज रानीपोखरीमा मानव निर्मित सम्पदा जोगियो, प्राकृतिक सम्पदा हरायो।
    हामीले जुनकिरी हराएको देख्यौँ। कहिल्यै नफर्किने गरी धेरै जीवहरू पृथ्वीबाट लोप भए। अब भक्तपुरको रानीपोखरीबाट स्थानीय हिले माछा पनि हरायो। यो भविष्य पुस्ताका लागि ठूलो क्षति हो। यदि हामीले चाहेको भए त्यो प्रजाति बचाउन सकिन्थ्यो। भविष्यका बालबालिकाले पनि देख्न पाउने थिए—“यो हाम्रो रैथाने माछा हो” भनेर।
    आज रानीपोखरी अझै सुन्दर छ। ज्याकारिन्दाका फूलहरू अझै फुलिरहेका छन्। इतिहास अझै उभिएको छ। तर त्यो इतिहासको छायाँभित्र हराएको प्राकृतिक जीवनको पीडा पनि उत्तिकै गहिरो छ।
    हामीले इतिहास जोगाउँदै गर्दा प्रकृतिलाई पनि जोगाउनुपर्छ।
    नत्र भोलि हाम्रो पुस्ताले भन्नुपर्नेछ—
    “हामीले सम्पदा बचायौँ, तर जीवन हरायौँ।”

    प्रतिकृया दिनुहोस्