
भक्तपुर, कार्तिक १५ –
निजी अस्पताल र नर्सिङ शिक्षण संस्थामा कार्यरत नर्सहरूले सरकारी अस्पतालका कर्मचारीसरह पारिश्रमिक र सेवा–सुविधा माग्दै बुधबार दुई घण्टासम्म सेवा बन्द गरेर गरेको आन्दोलनलाई मध्यपुर थिमीका नर्सहरूले पनि एकजुट समर्थन जनाएका छन्।

नेपाल नर्सिङ संघको नेतृत्वमा देशभर एकैसाथ सुरु गरिएको यस आन्दोलनमा ठीमी क्षेत्रका विभिन्न निजी अस्पताल, नर्सिङ कलेज र स्वास्थ्य संस्थामा कार्यरत नर्सहरू सहभागी भएका छन्। उनीहरूले बिहान १० बजेदेखि १२ बजेसम्म प्रतीकात्मक रूपमा सेवा बन्द गरी प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए।

मध्यपुर अस्पताल, ठिमीका नर्सहरूले भने, “हामी सरकारी नर्सहरूसरह समान पारिश्रमिक र सेवा सुविधा चाहन्छौँ। हाम्रो श्रमको मूल्य समान हुनुपर्छ, स्वास्थ्य सेवा सबैकै अधिकार हो।”
आन्दोलनरत नर्सहरूले लामो समयदेखि निजी क्षेत्रका नर्सहरू न्यून तलब, अस्थिर करार, ओभरटाइमको उचित मूल्यांकन र सामाजिक सुरक्षा अभावको समस्यामा पीडित रहेको जनाएका छन्। उनीहरूले चेतावनी दिएका छन् कि माग पूरा नभए आगामी दिनमा चरणबद्ध रूपमा आन्दोलनलाई अझ कडा रूप दिइनेछ।
नेपाल नर्सिङ संघले सरकारले नर्सहरूको न्यूनतम पारिश्रमिक मापदण्ड कार्यान्वयन गर्न, निजी अस्पताल र शिक्षण संस्थामा श्रम ऐनको पूर्ण पालना गराउन, र नर्सहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न माग गरेको छ।
उक्त आन्दोलनमा ठीमी, भक्तपुर र काठमाडौँ उपत्यकाका सयौँ नर्सहरूको उपस्थिति थियो। उनीहरूले “समान कामको समान पारिश्रमिक चाहियो”, “नर्सहरूको श्रमको सम्मान गर”, “स्वास्थ्य सेवा नाफाको व्यापार होइन” जस्ता नारासहित ऐक्यबद्धता जनाएका थिए।












