News Portal

  • पूर्वीय दर्शनको वैज्ञानिक पुनर्पाठमा जोड : ‘भौतिकवादी उपनिषद्हरू’ माथि गहन विमर्श

    दोलागिरि संवाददाता२०८३ आषाढ २१
    ३९ पटक

    काठमाडौं, असार २१। प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको वैचारिक विमर्श तथा परिसंवाद विभागद्वारा आयोजित ‘विचार चौतारी ८७औँ शृङ्खला’ अन्तर्गत लेखक गोपीरमण उपाध्यायको कृति ‘भौतिकवादी उपनिषद्हरू’ माथि गहन वैचारिक परिचर्चा कार्यक्रम   सम्पन्न गरेको छ। कार्यक्रममा पूर्वीय दर्शनलाई अन्धस्वीकार वा पूर्ण अस्वीकारको दृष्टिकोणबाट होइन, वैज्ञानिक, ऐतिहासिक तथा भौतिकवादी दृष्टिकोणबाट पुनर्पाठ गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।


    कार्यक्रममा सहभागी परिचर्चाकारहरुले उपनिषद्हरूलाई केवल आध्यात्मिक वा रहस्यवादी ग्रन्थका रूपमा मात्र व्याख्या गर्ने परम्परागत दृष्टिकोण पर्याप्त नभएको उल्लेख गर्दै ती ग्रन्थभित्र निहित वैज्ञानिक, तर्कप्रधान तथा प्रगतिशील चिन्तनलाई पुनः उजागर गर्नुपर्नेमा विशेष जोडदिएका छन् ।  परिचर्चाकार प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ले उपनिषद्हरूलाई एकपक्षीय रूपमा अध्यात्मवादको प्रतिनिधि ग्रन्थ ठान्ने प्रवृत्तिले तिनको वास्तविक वैचारिक विविधतालाई ओझेलमा पारेको उनले बताएका छन् । उनका अनुसार उपनिषद्हरूभित्र प्रकृति, समाज र मानव अस्तित्वबारे तर्क, अनुभव र यथार्थमा आधारित अनेक विचारहरू रहेका छन्, जसको वैज्ञानिक अध्ययन आजको आवश्यकता रहेको भन्दै उनले पूर्वीय दर्शनको आलोचनात्मक अध्ययनले नेपाली बौद्धिक जगतमा नयाँ बहस र अनुसन्धानको ढोका खोल्ने विश्वास व्यक्त गरेका थिए ।

    त्यस्तै परिचर्चाकार  प्रगतिशील साहित्यकार–राजनीतिज्ञ आहुतिले पूर्वीय दर्शनलाई प्रतिक्रियावादी वा पूर्ण रूपमा आध्यात्मिक भनेर अस्वीकार गर्नु पनि वैज्ञानिक दृष्टिकोण नहुने बताए। उनका अनुसार उपनिषद्हरूभित्र वर्ग, समाज, मानव स्वतन्त्रता, तर्कशीलता र सामाजिक समानतासम्बन्धी महत्वपूर्ण चिन्तनका बीजहरू विद्यमान रहेको तर्क गरेका छन्। उनले ती वैचारिक पक्षहरूको खोज, संरक्षण र पुनर्पाठले समकालीन प्रगतिशील बौद्धिक आन्दोलनलाई थप सशक्त आधार प्रदान गर्ने धारणा रहेको थियो ।
    कृतिका लेखक गोपीरमण उपाध्यायले आफ्नो पुस्तकको मूल वैचारिक आधार प्रस्तुत गर्दै आदिम सामूहिक उत्पादन प्रणाली र सामुदायिक जीवन प्रक्रियाबाट मानव चेतनाको विकास भएको ऐतिहासिक प्रक्रिया व्याख्या गर्दै उनले निजी सम्पत्तिको विकाससँगै समाजमा वर्ग विभाजन तीव्र बन्दै जाँदा दर्शनमा पनि अध्यात्मवाद र रहस्यवादको प्रभाव क्रमशः बलियो भएको तर्क गरे। उनका अनुसार आज प्रचलित धेरै उपनिषद्हरू पछिल्ला सामाजिक–ऐतिहासिक चरणमा थपिएका हुन्, जसले प्रारम्भिक उपनिषद्हरूमा विद्यमान भौतिकवादी तथा तर्कप्रधान चिन्तनलाई ओझेलमा पार्ने प्रयास गरेकाे उनले बतायका छन्। परिचर्चाका क्रममा प्रश्नोपनिषद्, स्वयंवेद्य उपनिषद्, शरीरकोपनिषद् तथा वज्रसूचिकोपनिषद्मा अभिव्यक्त भौतिकवादी चिन्तन, जातिव्यवस्थाविरोधी चेतना र तर्कप्रधान दृष्टिकोणबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले पूर्वीय दर्शनभित्र रहेका प्रगतिशील र वैज्ञानिक विचारहरूको खोज, संरक्षण तथा पुनर्पाठले समकालीन समाजमा आलोचनात्मक चेतनाको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखेका छन् ।

    कार्यक्रमको अध्यक्षता तथा सहजीकरण वैचारिक विमर्श तथा परिसंवाद विभागका प्रमुख समीर सिंहले गरेका थिए। समापनका क्रममा साहित्य सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले इतिहास, दर्शन र संस्कृतिमाथि खुला, तथ्यपरक र वैज्ञानिक बहसले समाजमा आलोचनात्मक चेतनाको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस्तो महत्त्वपूर्ण वैचारिक कार्यक्रम आयोजना गरेकोमा प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समिति तथा वैचारिक विमर्श तथा परिसंवाद विभागलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    आयोजकका अनुसार ‘विचार चौतारी–८७औँ शृङ्खला’ ले पूर्वीय दर्शनलाई अन्धविश्वास वा अन्धअस्वीकारको दृष्टिबाट होइन, ऐतिहासिक भौतिकवाद, वैज्ञानिक विवेक र आलोचनात्मक अध्ययनका आधारमा पुनर्मूल्याङ्कन गर्नुपर्ने सन्देश प्रवाह गर्दै कार्यक्रम सम्पन्न भएको जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्