News Portal

  • नगरकोट : इतिहास, सम्भावना र उपेक्षित टावर

    दोलागिरि संवाददाता२०८३ आषाढ १
    ६० पटक

    नगरकोट एउटा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो। यो नेपालको पुरानो तथा ऐतिहासिक स्थलमध्ये एक हो। राणाकालमा यहाँ भंगेरी दरबार बनाएर गर्मी मौसममा आएर बस्ने चलन थियो। श्री ३ चन्द्र शमशेरले यस क्षेत्रको पर्यटकीय सम्भावना पहिचान गरी यसको महत्व देखाएको स्थान पनि यही हो। नगरकोटको आधुनिक इतिहासको सुरुआत यहीँबाट भएको मान्न सकिन्छ। करिब वि.सं. १९०० तिर निर्माण भएको भनिने उक्त दरबार र त्यससँग जोडिएका संरचनाहरू राणाकालीन विकासका नमुनाका रूपमा रहेका छन्। यस अर्थमा नगरकोटको इतिहास सय वर्षभन्दा पनि पुरानो छ।
    आज नगरकोट विश्वकै चर्चित सूर्योदय अवलोकन गर्ने गन्तव्यहरूमध्ये एक मानिन्छ। यहाँको सूर्योदय हेर्न विश्वभरबाट पर्यटकहरू आउने गर्दछन्। नेपाल भ्रमणमा आएका पर्यटकहरू नगरकोट नपुग्ने बिरलै हुन्छन्। काठमाडौँबाट करिब ३२ किलोमिटर तथा भक्तपुरबाट करिब २० किलोमिटर पूर्वमा रहेको नगरकोट समुद्री सतहबाट करिब २,००० मिटरदेखि २,१७५ मिटर उचाइसम्म फैलिएको छ। यो क्षेत्र भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ जिल्लाको सीमामा पर्ने भएकाले “तीन जिल्ला पर्ने नगरकोट भक्तपुर” भनेर समेत चिनिन्छ।
    हाल नगरकोट क्षेत्रमा सेवा दिइरहेका होटल तथा रिसोर्टहरूको संख्या यकिन रूपमा भन्न कठिन भए पनि अनुमानित रूपमा ८० देखि १२० वटासम्म पुगेको मानिन्छ। धेरै होटल तथा पर्यटन व्यवसाय पर्यटन विभागमा दर्ता नभएकाले आधिकारिक तथ्यांक उपलब्ध गराउन कठिन छ। यस क्षेत्रको पुरानो नाम रत्नागिरि पर्वत रहेको उल्लेख पाइन्छ। यो भक्तपुरको सबैभन्दा ठूलो पहाडी क्षेत्र हो। नेवारी भाषामा यसलाई “तजगु” भनिन्छ, जसको अर्थ ठूलो पहाड वा ठूलो जंगल भन्ने बुझिन्छ।
    नगरकोट प्राकृतिक सम्पदाले भरिपूर्ण स्थान हो। यहाँको मनोरम दृश्य, शान्त वातावरण, हरियाली वनजंगल तथा हिमशृङ्खलाको अवलोकनले जो–कोहीलाई आकर्षित गर्छ। यहाँबाट पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमालहरू एकपछि अर्को लाइन लागेर उभिएजस्तै देखिन्छन्। मौसम अनुकूल हुँदा सगरमाथा सहित लाङटाङ, गणेश, गौरीशंकर, रोल्वालिङ तथा अन्य हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ। प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले सम्पन्न नगरकोट वास्तवमै नेपालको अमूल्य सम्पदा हो।
    तर यहाँ उठाउन खोजिएको विषय भने नगरकोटको पहिचानसँग जोडिएको भ्यू टावर हो। नगरकोटको सानका रूपमा रहेको यो टावर आज उपेक्षित र लाचार अवस्थामा देखिन्छ। नापी विभागको त्रिकोणमितीय बिन्दु (Survey Point) का रूपमा यसको ऐतिहासिक तथा प्राविधिक महत्व भए पनि यसको संरक्षण र व्यवस्थापनमा पर्याप्त ध्यान पुगेको देखिँदैन। यसलाई आधुनिक स्वरूपमा विकास गर्न सके नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सकिने सम्भावना छ।
    टावर वरपरको क्षेत्र सफा र व्यवस्थित बनाउने, आकर्षक बगैचा निर्माण गर्ने, विश्रामस्थल, सूचना केन्द्र, फोटो खिच्ने स्थान तथा पर्यटकमैत्री पूर्वाधार थप्ने हो भने यो क्षेत्र अझ आकर्षक बन्न सक्छ। तर विडम्बना, यति महत्वपूर्ण स्थलको वरपरको अवस्था हेर्दा राज्यको बेवास्ता झल्किन्छ। पर्यटकहरू पुग्ने केन्द्रबिन्दु नै पर्याप्त संरक्षण र व्यवस्थापनको अभावमा आफ्नो गरिमा गुमाउँदै गएको अनुभूति हुन्छ।
    नगरकोट नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण आधारस्तम्भ हो। यसले हजारौं स्थानीयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ। प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व, सांस्कृतिक विविधता र हिमाली दृश्यको अनुपम संगम रहेको यस क्षेत्रलाई अझ व्यवस्थित र आधुनिक बनाउनु आजको आवश्यकता हो। विशेषगरी नगरकोट टावर क्षेत्रको संरक्षण, सौन्दर्यीकरण र दीर्घकालीन विकासमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ। यसो गर्न सके नगरकोटको गौरव मात्र होइन, नेपालको पर्यटन क्षेत्रले पनि नयाँ उचाइ हासिल गर्न सक्नेछ।

    प्रतिकृया दिनुहोस्