News Portal

  • गाउँगाउँमा होमस्टे, अब पालो हिल स्टेशनको : समृद्ध नेपालको ग्रामीण विकासको आधार

    रामसुन्दर बके२०८३ जेठ २०
    १२३ पटक

    मेरो अभियानका क्रममा उठाइएका केही विषयहरू यस वर्षको सरकारी बजेटमा समेटिएको देख्दा खुसी लागेको छ। विशेषगरी “गाउँगाउँमा होमस्टे, घरघरमा रोजगार” भन्ने नारालाई सरकारले नीतिगत रूपमा अगाडि बढाएको छ। होमस्टेलाई ब्रान्डिङ गर्ने घोषणा गरिएको छ। यो केवल पर्यटन क्षेत्रको कार्यक्रम मात्र होइन, ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने र गाउँमै रोजगारी सिर्जना गर्ने महत्वपूर्ण आधार हो।
    गाउँसम्म पर्यटक पुग्नु भनेको स्थानीय मानिसहरूको आयआर्जन बढ्नु हो। स्थानीय उत्पादनले बजार पाउनु हो। किसान र उपभोक्ताबीचको दूरी घट्नु हो। आज किसानले उत्पादन त गर्छ, तर उचित मूल्य पाउन सक्दैन। बिचौलियाको चक्रले गर्दा किसानको पसिना अरूको नाफामा परिणत हुन्छ। तर गाउँमा पर्यटक पुग्न थाले भने किसानले उत्पादन गरेको तरकारी, फलफूल, दूध, दही, घ्यू, कोदो, फापर, मकै, आलु, मासु र स्थानीय परिकारहरू त्यहीँ बिक्री गर्न सक्छ। शहरमा पाइने मूल्य गाउँमै प्राप्त गर्न सक्छ। यसले कृषकको समय, श्रम र ढुवानी खर्च बचाउँछ। किसानलाई थप उत्पादन गर्न हौसला मिल्छ र कृषि पेशाप्रति आकर्षण बढ्छ।
    मेरो विचारमा नेपाल जस्तो गाउँ नै गाउँ भएको देशको मुहार बदल्ने शक्ति गाउँ पर्यटनमा छ। किनभने अधिकांश ग्रामीण क्षेत्रमा ठूला उद्योग सञ्चालन गर्न भौगोलिक कठिनाइ छन्। बजार सानो छ, यातायातको पहुँच सीमित छ, लगानीको अभाव छ। तर पर्यटन उद्योग भने गाउँको प्राकृतिक अवस्था र सामाजिक संरचनासँग मिल्ने उद्योग हो। यसको लागि ठूलो मेसिन, विशाल कारखाना वा अत्यधिक विद्युत् आवश्यक पर्दैन।
    होमस्टेको सबैभन्दा ठूलो विशेषता भनेको यो आफ्नै घरबाट सुरु गर्न सकिने उद्योग हो। तपाईंसँग भएको घर नै होटल हो। दैनिक प्रयोगमा आउने भाँडाकुँडा नै उपकरण हुन्। पाहुनालाई राख्ने कोठा नै पर्यटनको उत्पादन हो। परिवारले खाने खाना नै पर्यटकलाई बेच्न सकिन्छ। त्यसैले मैले सधैं भन्ने गरेको छु।
    जे पाक्छ, त्यो बिक्छ
    होमस्टे होटल जस्तो हुँदैन। त्यहाँ आत्मीयता हुन्छ, सम्बन्ध हुन्छ, संस्कृति हुन्छ, समाज हुन्छ। पर्यटकले पैसा तिर्छ तर बदलामा केवल कोठा र खाना मात्र पाउँदैन, एउटा परिवार पाउँछ, एउटा संस्कृति पाउँछ, एउटा जीवनशैली पाउँछ। यही कारणले होमस्टे पर्यटनको सबैभन्दा मानवीय र दिगो रूप हो।
    आजका युवायुवतीहरू गाउँ र समाजबाट टाढिँदै गएका छन्। होमस्टेले उनीहरूलाई गाउँ बुझ्ने अवसर दिन्छ। शहरी जीवन र ग्रामीण जीवनबीचको भिन्नता बुझ्न मद्दत गर्छ। श्रम, सहकार्य, सामूहिकता र प्रकृतिसँगको सम्बन्धलाई अनुभव गर्ने अवसर दिन्छ। यसले सामाजिक सद्भाव र सांस्कृतिक आदानप्रदानलाई समेत मजबुत बनाउँछ।
    नेपालको गरिबी हटाउने, बसाइँसराइ रोक्ने र गाउँलाई पुनर्जीवित गर्ने प्रभावकारी उपायमध्ये एक हो—होमस्टे र ग्रामीण पर्यटन। पर्यटन केवल पैसा कमाउने माध्यम होइन, यो खुशी साटासाट गर्ने पेशा हो। यहाँ पाहुनाले सम्झना लिएर फर्किन्छन् र स्थानीय समुदायले सम्मानसहित आम्दानी प्राप्त गर्छ।
      अब पालो हिल स्टेशनको
    नेपालका पहाडी भूभागहरू विश्वका उत्कृष्ट प्राकृतिक गन्तव्य बन्ने क्षमता राख्छन्। तर हामीले त्यसलाई योजनाबद्ध रूपमा विकास गर्न सकेका छैनौं। अब सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर विभिन्न पहाडी क्षेत्रहरूलाई व्यवस्थित हिल स्टेशनका रूपमा विकास गर्नुपर्छ।
    शहरमा तारे होटल निर्माण गर्न अत्यधिक लागत लाग्छ। जग्गा महँगो छ, भीडभाड छ, प्रदूषण छ। तर पहाडी क्षेत्रमा तुलनात्मक रूपमा कम लागतमा अन्तर्राष्ट्रिय स्तरका होटल, रिसोर्ट र पर्यटन पूर्वाधार विकास गर्न सकिन्छ। यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्छ, स्थानीय बजार विस्तार गर्छ र पूर्वाधार विकासलाई गति दिन्छ।
    हिल स्टेशनको विकाससँगै सडक, विद्युत्, खानेपानी, इन्टरनेट, स्वास्थ्य सेवा र अन्य आधारभूत सुविधाहरू गाउँसम्म पुग्छन्। विकासको लाभ शहरमा मात्र सीमित नहुँदा ग्रामीण बस्तीहरू पनि आर्थिक गतिविधिको केन्द्र बन्न थाल्छन्। यसले गाउँबाट शहरतर्फको अनियन्त्रित बसाइँसराइलाई समेत रोक्न मद्दत पुर्‍याउँछ।
    पर्यटकहरूले स्वच्छ हावा, हरियाली जंगल, हिमालका मनोरम दृश्य, स्थानीय संस्कृति र मौलिक जीवनशैलीको अनुभव गर्न पाउँछन्। वातावरणीय सन्तुलन कायम राख्दै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। पर्यटन र प्रकृतिको सहअस्तित्वबाट दिगो विकासको नयाँ मोडेल निर्माण गर्न सकिन्छ।
    आज नेपाललाई सबैभन्दा बढी आवश्यक कुरा भनेको आफ्ना सम्भावनाहरूलाई चिन्ने साहस हो। हामीसँग संसारका अग्ला हिमाल छन्, अद्भुत प्राकृतिक सौन्दर्य छ, विविध संस्कृति छ, अतिथिलाई देवताको रूपमा सम्मान गर्ने परम्परा छ। यी सबै कुरा पर्यटनका अमूल्य सम्पत्ति हुन्। यदि हामीले यिनलाई सही ढंगले व्यवस्थापन गर्न सक्यौं भने पर्यटन नै नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बन्न सक्छ।
    अब विकासको अर्थ केवल कंक्रिटका शहरहरू निर्माण गर्नु होइन। विकासको अर्थ गाउँलाई बलियो बनाउनु हो। गाउँलाई आत्मनिर्भर बनाउनु हो। किसानको उत्पादनलाई मूल्य दिनु हो। युवालाई आफ्नै ठाउँमा अवसर दिनु हो। प्रकृति, संस्कृति र अर्थतन्त्रलाई एकैसाथ जोड्नु हो। त्यसैले म पुन यो लेखमा जोडदियर भन्न चाहन्छु
    गाउँगाउँमा होमस्टे केवल पर्यटनको कार्यक्रम मात्र होइन, यो गाउँ बचाउने नयाँ  अभियान हो। हिल स्टेशन केवल होटल बनाउने योजना  मात्र होइन, यो ग्रामीण समृद्धिको लागि  नयाँ ढोका हो।
    र, नेपालको समृद्धिको बाटो काठमाडौंका सडकहरूबाट मात्र होइन, गाउँका दुर्दराजका   गोरेटाहरू हुँदै जान्छ र जाने छ ।
    गाउँ उठ्यो भने नेपाल उठ्छ, र गाउँ उठाउने सबैभन्दा प्रभावकारी माध्यम पर्यटन बन्न सक्छ।

    प्रतिकृया दिनुहोस्