News Portal

  • सीमाभन्दा माथिको सम्बन्ध

    दोलागिरि संवाददाता२०८३ जेठ १५
    ११५ पटक

    ईलामको श्रीअन्तुदेखि करिब साढे सात किलोमिटर उकालो–ओरालो पार गरेपछि एउटा यस्तो बस्ती भेटिन्छ, जहाँ पुग्नेबित्तिकै लाग्छ—नक्साले मात्रै नेपाल र भारत छुट्याएको हो, जीवनले होइन।
    त्यहाँ न त कडा सुरक्षाबीच उभिएका बन्दुकधारी देखिन्छन्, न ठूलो भन्सार कार्यालय। सीमाको बीच सडकमा गाडिएको एउटा साधारण लठ्ठीले दुई देश छुट्याएको संकेत गर्छ, तर मानिसहरूको सम्बन्ध भने त्यो लठ्ठीभन्दा धेरै माथि उठिसकेको छ।
    त्यो भूगोलमा पुग्दा मलाई बारम्बार लागिरहेको थियो—राज्यले कोरेका सीमारेखाहरू कागजमा मात्र कडा हुँदारहेछन्, मानिसको मनमा होइन। त्यहाँका मानिसहरू बिहान नेपालतर्फको घरबाट निस्केर भारततर्फको बजार पुग्छन्, साँझ फेरि आफ्नै आँगन फर्किन्छन्। सय रुपैयाँसम्मका सामानमा भन्सार लाग्दैन, त्यसैले किनमेल पनि सहज छ। तर त्यहाँको वास्तविक सुन्दरता सामानको आवतजावतमा होइन, आत्मीयताको निर्बाध यात्रामा छ।
    नेपाली भूमिमा उभिएर भारतीय बजारको आवाज सुन्न सकिन्छ। भारतीय भूमिबाट नेपाली वनको सिरेटो महसुस गर्न सकिन्छ। सीमाले भूगोल छुट्याएको छ, तर हावा, पानी, भाषा र भावना भने छुट्टिएका छैनन्।
    त्यहाँ एउटै टोल सुधार समिति छ। एउटै वन उपभोक्ता समिति। एउटै दुःख–सुख। प्राकृतिक स्रोत नेपालको प्रयोग हुन्छ, बजार भारतको। पानी नेपालबाट बग्छ, सुविधा भारततर्फ भेटिन्छ। नागरिकता कानुनले उनीहरूलाई नेपाली बनाएको छ, तर दैनिक जीवनको धड्कन भारतसँग गाँसिएको छ।
    त्यहाँका बासिन्दाहरू नेपाली भाषामै हाँस्छन्, रुन्छन्, गीत गाउँछन्। उनीहरूको बोलीमा पूर्वी पहाडको मिठास छ। तर जीवनको व्यवहारिक पक्ष भने सीमापारिको बजारसँग जोडिएको छ। रोजगार, औषधि, लत्ताकपडा र दैनिक उपभोगका सामग्रीका लागि भारत उनीहरूको आधार बनेको छ।
    तर अचम्म के लाग्छ भने, त्यहाँ कुनै कटुता छैन। न राष्ट्रवादको कृत्रिम प्रदर्शन, न सीमाको तनाव। बरु एउटा सहज मानवीय सम्बन्ध छ, जसले दुई देशबीचको भूगोललाई आत्मीयतामा रूपान्तरण गरिदिएको छ।
    त्यो ठाउँमा पुग्दा मलाई महसुस भयो—कहिलेकाहीँ राज्यले बिरानो बनाएका ठाउँहरूलाई मान्छेको आत्मीयताले देश बनाइरहेको हुँदोरहेछ। सीमास्तम्भभन्दा माथि पनि एउटा संसार रहेछ, जहाँ सम्बन्धको कुनै भन्सार हुँदैन। त्यहाँ त केवल दुई देश छुट्याउने बीच सडकको एउटा लठ्ठी मात्रै हुँदोरहेछ।
    त्यसैले त्यहाँका बासिन्दाहरू गर्वका साथ भन्छन्
    “हामी एक जात, दुई देशको सम्मोहनभित्र खुला सीमाको सुन्दर परिधिमा स्वतन्त्र रमाइरहेका छौँ।”
    त्यो वाक्य सुन्दा मेरो मन निकैबेरसम्म स्तब्ध बनिरह्यो। साँच्चै, देशभन्दा ठूलो कुरा मानवता रहेछ। सीमाभन्दा बलियो सम्बन्ध रहेछ। राजनीति र प्रशासनले कोरेका रेखाभन्दा धेरै विशाल भावनाको संसार रहेछ। त्यहाँ उभिएर मैले महसुस गरेँ मानिसलाई नजिक ल्याउने शक्ति बन्दुकले होइन, आत्मीयताले दिन्छ।
    सीमाले भूगोल छुट्याउन सक्छ, तर मन छुट्याउन सक्दैन।
    यति सुन्दर सम्भावना बोकेको ठाउँसम्म पुग्ने बाटो भने अझै कष्टकर छ। श्रीअन्तुदेखि यहाँसम्मको सडक व्यवस्थित बनाइदिने हो भने यो क्षेत्र पूर्वी नेपालको नयाँ पर्यटन गन्तव्य बन्न सक्छ। भारतबाट ईलाम प्रवेश गर्ने छोटो र सहज मार्गका रूपमा यसको महत्व अझ बढ्न सक्छ। तर सडक बन्नुभन्दा अगाडि पनि त्यहाँ एउटा कुरा बनिसकेको छ मान्छे र मान्छेबीचको विश्वास।
    म फर्किने बेला एक स्थानीय बृद्धले मुस्कुराउँदै भनेका थिए
    “बाबु, यहाँ सीमा छ, तर दूरी छैन।” सायद त्यो एक वाक्यले नै त्यो भूगोलको सम्पूर्ण दर्शन बोकेको थियो। आज पनि त्यो ठाउँ सम्झिँदा मनभित्र एउटा अनौठो न्यानोपन फैलिन्छ। लाग्छ, संसारलाई जोगाइराख्ने अन्तिम शक्ति राज्य होइन, मानवताको सम्बन्ध हो।

    प्रतिकृया दिनुहोस्