
शनिबारको दिन थियो । दिनभर कोशीबगर चहलपहलले भरिएको थियो । समय ढल्दै जाँदा सूर्यले आफ्ना रङहरू बदल्दै गइरहेको थियो र त्यहीसँगै मानिसहरूको घुइँचो पनि बाक्लिँदै गइरहेको थियो । दिन छिपिँदै जाँदा कोशीबगरको महत्त्व झन्–झन् बढेको महसुस हुन्थ्यो । मानिसहरू स्वाभाविक रूपमा यसतर्फ मोडिन थालेका थिए । यहाँ दिनभर पिकनिक गर्न आउनेहरू थिए, घुम्न आउनेहरू थिए । बाटो साँघुरो थियो, दुवैतर्फ मानिस र सवारी साधनको निरन्तर आवत–जावत थियो । कोशीबगर–शिसौली–बोराबाँध क्षेत्रमा पार्किङको समेत अभाव देखिन्थ्यो ।
अचम्मको कुरा के थियो भने न कुनै मेला थियो, न कुनै औपचारिक आयोजना । तर पनि यति ठूलो भीड यसको मूल कारण एउटै थियो सपना । नेपालमै एउटा फरक, आकर्षक र सम्भावनायुक्त पर्यटकीय गन्तव्य निर्माण गर्ने सपना । समुद्र नभएको देशमा समुद्रजस्तै दृश्यको खोजीमा म धेरै ठाउँ पुगेको छु । तर अन्त कतै नपाएको अनुभूति मैले यहाँ कोशीबगरमा पाएँ । यहाँ उभिँदा साँच्चिकै लाग्छ।
सप्तकोशी बगरमा उभिँदा थाइल्याण्डको जोम्टियन बिच जस्तै अनुभूति हुन्छ । पानी, बालुवा, खुला आकाश र सूर्यास्तको संगमले यो क्षेत्र नेपालकै नयाँ परिचय बन्न सक्छ भन्ने विश्वास दिलाउँछ । आज यहाँ देखिएको मानिसहरूको भीडले त्यो सपना केवल कल्पना मात्र होइन भन्ने प्रमाण दिएको छ । परिवर्तन सधैँ ठूला नेता वा राजनीतिक पार्टीबाट मात्रै हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ एक जना मानिसको सोच, साहस र कल्पनाले पनि समाज बदल्न सक्छ ।
कोशीबगरले आज सयौँ मानिसलाई रोजगारी दिएको छ । धेरै युवाहरूको स्वदेशमै बस्ने सपना पूरा भएको छ । “छोरा–छोरी विदेश नजाऊन्, यहीँ केही गरून्” भन्ने बुबा–आमा र परिवारको चाहना यहाँ साकार हुँदैछ । सप्तकोशी बगरमा पानीसँग खेल्ने विभिन्न गतिविधिहरू उपलब्ध छन् । थाइल्याण्डले समुद्रकिनार बनाउन बालुवा किनेर संरचना तयार गर्नुपरेको छ, तर हाम्रो कोशीमा प्रकृतिले आफैँ अनन्त बगर दिएको छ आँखाले भ्याएसम्म फैलिएको । अलिकति योजना, व्यवस्थापन र मेहनत गरे संसारभर समुद्रमा रमाउन चाहने पर्यटकहरूलाई नेपालतर्फ आकर्षित गर्न सकिने सम्भावना यहाँ स्पष्ट देखिन्छ । नेपाल आफैँमा अद्वितीय देश हो । समुद्रभन्दा गहिरो केचनादेखि विश्वकै अग्लो सगरमाथासम्म फैलिएको भूगोल, १२७ जातजाति, अनेक भाषा, संस्कृति र धर्म— एउटै गाउँमा पनि विविधता पाइने हाम्रो देश । त्यही विविधतामा नयाँ प्राकृतिक र पर्यटनिक पहिचान थपेको छ कोशीबगरले ।
सप्तकोशी धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा पनि विशिष्ट छ । प्राचीन हरिद्वार, कुम्भ मेला हरेक बाह्र वर्षमा यहीँ लाग्छ ।
आज भने यहाँ दैनिक सूर्यास्तको मेला लाग्छ ।
साँझ पर्नासाथ हजारौँ मानिस सूर्यास्त हेर्न कोशीकिनार जम्मा हुन्छन् । पानी, हावा र सूर्यको किरण मिसिएको रंगीन दृश्यले मानिसलाई मन्त्रमुग्ध बनाउँछ । डुब्न लागेको सूर्यले दिनभरको थकान बिर्साइदिन्छ । यहाँ हरेक मानिस आफ्नै तरिकाले खुसी देखिन्छ । हजारौँ मानिस, हजारौँ खुसी तर सूर्य एउटै । पानी, हावा र प्रकाशको तालले मानिसको मन छुन्छ, आत्मासम्म पुग्छ । छोटो समयमै यो स्थान चर्चामा आउनुको कारण यही हो ।सप्तकोशीलाई कतिपयले चञ्चल, अविवाहित नारीसँग तुलना गर्छन् । सायद त्यसैले होला, यहाँ आउने हरेक अनुहारमा चञ्चलता र मुस्कान देखिन्छ । कोशीको सूर्यास्तले आजको दुःख बिर्साएर भोलिको सुनौलो दिनको कल्पना गर्न प्रेरित गर्छ । “भोलि के हुन्छ थाहा छैन, तर आज खुसी हुनुपर्छ” यही सन्देश दिन्छ यहाँको सूर्यास्तले ।
दैनिक नयाँ–नयाँ खेलकुद गतिविधि थपिँदै छन् । साधारण खाजादेखि रिसोर्टस्तरका पसलहरू खुल्दै छन् । हरेक साँझ यहाँ संगीत बगिरहेको हुन्छ कोही संगीतमा नाचिरहेको, कोही नदीको तालसँगै बगिरहेको, कोही सूर्यास्तको सप्तरंगीमा झुमिरहेको,
कोही पानीका तरङ्गसँग तरङ्गित भइरहेको ।यहाँ खुसीको कुनै कमी छैन । प्रकृतिले सबैलाई रमाउने अवसर दिएको छ सामाजिक मर्यादाभित्र बसेर, जसरी मन लाग्छ । कोशीबगर केवल बगर होइन
यो सपना हो, सम्भावना हो र नेपालले देखिरहेको उज्यालो भविष्यको संकेत हो।














