News Portal

  • लड्केश्वर (कालाग्निरुद्र पीठ) : धार्मिक पर्यटनको उदाउँदो केन्द्र

    रामसुन्दर बके २०८३ साउन १०
    ५५ पटक

    श्रावण महिनाको पहिलो शनिबार पनौती नगरपालिका–१२, बल्थलीमा अवस्थित लड्केश्वर महादेवको दर्शन गर्ने अवसर मिल्यो। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्त्वले भरिपूर्ण यो क्षेत्रलाई कालाग्निरुद्र पीठका रूपमा चिनिन्छ। स्थानीय जनविश्वासअनुसार लड्केश्वर महादेवलाई कालाग्निरुद्रेश्वर महादेव पनि भनिन्छ। विश्वमै अद्वितीय मानिने यस पवित्र स्थलले पछिल्ला वर्षहरूमा धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा आफ्नो पहिचान स्थापित गरिरहेको छ।


    लड्कु खोला र रोशी खोलाको पवित्र संगमस्थलमा अवस्थित यो धाम प्राचीनकालदेखि नै श्रद्धाको केन्द्र रहँदै आएको छ। विगतमा यहाँ विशेषगरी कार्तिक शुक्ल एकादशीका दिन विशाल मेला लाग्ने गर्थ्यो। हाल १०८ फिट अग्लो विशाल त्रिशूल स्थापना भएपछि यसको चर्चा देशभर फैलिएको छ र दर्शनार्थीहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।
    जनश्रुतिअनुसार यहाँको शिवलिङ्ग कुनै मानवद्वारा स्थापित नभई स्वयम्भू रूपमा प्राकृतिक रूपमा उत्पत्ति भएको हो। महादेव गुफाभित्र विराजमान छन्। आश्चर्यको विषय, गुफाको माथि कुनै मुहान नदेखिए पनि चट्टानबाट निरन्तर पानीका थोपा झर्छन्, जसले महादेवलाई दिनरात अभिषेक गरिरहेझैँ अनुभूति हुन्छ। यही रहस्यले यो स्थानलाई अझ अलौकिक बनाएको छ।
    गुफाभित्र रहेको अर्को विशेष स्थानलाई “जन्मद्वार” भनिन्छ। स्थानीय लोककथाअनुसार धर्मात्मा मानिस मात्र यस साँघुरो गुफाबाट सहजै निस्कन सक्छन्, तर पापी मानिस निस्कन सक्दैनन् भन्ने जनविश्वास रहिआएको छ। यस्ता किंवदन्तीहरूले यस तीर्थको धार्मिक महत्त्वलाई थप गहिरो बनाएका छन्।
    यद्यपि यस महादेवको स्पष्ट उल्लेख हिमवत्खण्ड वा नेपाल माहात्म्य जस्ता प्राचीन ग्रन्थहरूमा भेटिएको छैन, स्थानीय श्रद्धालुहरूको विश्वासमा यो महादेव अत्यन्त शक्तिशाली छन्। कतिपय भक्तजनले त श्रद्धावश यसलाई ६४ ज्योतिर्लिङ्गभन्दा पनि महान् महादेवका रूपमा सम्मान गर्ने गरेका छन्। यो विश्वास धार्मिक आस्था र लोकपरम्पराको अभिव्यक्ति हो।

    इतिहासमा भक्तपुरका राजाहरू समेत यहाँ पूजा गर्न आउने गरेको जनश्रुति पाइन्छ। यसले पनि लड्केश्वर क्षेत्रको ऐतिहासिक महत्त्वलाई उजागर गर्छ।
    प्राकृतिक दृष्टिले पनि बल्थली अनुपम छ। हरियाली वन, नदीहरूको सङ्गम, शान्त वातावरण र धार्मिक आस्थाको संगमले यो क्षेत्रलाई धार्मिक मात्र होइन, पर्यावरणीय पर्यटनको पनि उत्कृष्ट गन्तव्य बनाउन सक्छ। यदि स्थानीय सरकार, समुदाय र निजी क्षेत्रले मिलेर होटल, होमस्टे, पदमार्ग, सरसफाइ, सूचना केन्द्र र अन्य पूर्वाधारको विकास गर्न सके, यहाँ हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ। यसबाट स्थानीय युवाले रोजगारीका लागि बाहिर भौंतारिनुपर्ने अवस्था पनि कम हुन सक्छ।
    यस क्षेत्रको विकासमा गुरु मुकुन्दजीले देखाएको सक्रियता र दूरदृष्टि प्रशंसनीय छ। उहाँले देखाएको मार्गलाई निरन्तरता दिन सकिए लड्केश्वर केवल एउटा स्थानीय धार्मिक स्थलमा सीमित रहने छैन, भविष्यमा नेपालकै प्रमुख हिन्दू तीर्थस्थलमध्ये एकका रूपमा स्थापित हुन सक्ने बलियो आधार देखिन्छ।
    लड्केश्वर केवल एउटा मन्दिर होइन; यो प्रकृति, इतिहास, आस्था र सम्भावनाको अनुपम संगम हो। यसको संरक्षण, प्रचार–प्रसार र योजनाबद्ध विकास गर्न सकियो भने यसले धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र, संस्कृति र पहिचानलाई पनि नयाँ उचाइमा पुर्‍याउनेछ। यही नै आजको आवश्यकता र भविष्यको अवसर हो।

    प्रतिकृया दिनुहोस्