News Portal

  • टुर्गानको सचिवमा भक्तपुरका युवा व्यवसायी रविन भैनात्वको उम्मेदवारी घोषणा

    दोलागिरि संवाददाता२०८३ आषाढ २४
    ६६ पटक

    काठमाडौं, असार २४ — गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३औँ वार्षिक साधारणसभा तथा अधिवेशनअन्तर्गत हुने निर्वाचनमा भक्तपुरका युवा पर्यटन व्यवसायी तथा टुरिस्ट गाइड रविन भैनात्वले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
    शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने निर्वाचनमा सचिव पदका उम्मेदवार बनेका भैनात्वले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै टुर गाइडहरूको पेशागत हकहित, संस्थागत सुदृढीकरण र पर्यटन क्षेत्रको गुणस्तरीय विकासका लागि आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
    टुर्गानका करिब ८४६ मतदाताले सहभागिता जनाउने निर्वाचनमा सचिव पदका प्रत्याशी भैनात्वले आफ्नो उम्मेदवारीसँगै दुई प्रमुख प्रतिबद्धता सार्वजनिक गरेका छन्। पहिलो, गैरकानुनी रूपमा गाइडको काम गर्ने व्यक्तिहरूलाई कानुनबमोजिम नियन्त्रण गरी गुणस्तरीय तथा व्यवस्थित गाइड सेवाको सुनिश्चितता गर्ने। दोस्रो, टुरिस्ट गाइडहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन तालिम, परियोजना, अवसर तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने।
    भक्तपुरका एक किसान परिवारबाट आएका भैनात्व लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय टुरिस्ट गाइडका रूपमा परिचित छन्। उनले नेपालको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धनमा टुरिस्ट गाइडहरूको भूमिका अझ प्रभावकारी बनाउन संस्थागत नेतृत्व आवश्यक रहेको बताएका छन्।
    उनका अनुसार देशभर करिब २० हजार टुरिस्ट गाइड रहे पनि संगठित रूपमा टुर्गानमा आबद्ध ८ सयभन्दा बढी सदस्यको साझा हित संरक्षण, पेशागत सुरक्षा र क्षमता अभिवृद्धिका लागि नीतिगत सुधार अपरिहार्य छ।
    “मेरो उम्मेदवारी केवल निर्वाचन जित्नका लागि होइन, टुर्गानलाई अझ गतिशील, पारदर्शी, उत्तरदायी र प्रभावकारी संस्था बनाउनका लागि हो,” भैनात्वले बताए। उनले सम्पूर्ण गाइड व्यवसायीको साझा हित, पेशागत सम्मान, क्षमता विकास तथा देखिएका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
    लोकप्रिय, मिलनसार र सक्रिय युवा व्यवसायीका रूपमा परिचित भैनात्वले टुरिस्ट गाइड पेशालाई सम्मानित, सुरक्षित र आकर्षक बनाउँदै नेपालको पर्यटन प्रवर्द्धनमा संस्थागत रूपमा थप योगदान पुर्‍याउने लक्ष्यसहित आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

    प्रतिकृया दिनुहोस्