News Portal

  • सुर्यविनायक नगरपालिकाका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित

    दोलागिरि संवाददाता२०८३ आषाढ १८
    ४६ पटक

    १७ असार २०८३ भक्तपुर। सुर्यविनायक नगरपालिकाका दस वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन्। बालबालिकाको अधिकार, सहभागिता, सुरक्षा, संरक्षण तथा समग्र विकासलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अभियानअन्तर्गत आवश्यक सूचकहरू पूरा गरेपछि नगरपालिकाका सबै वडा औपचारिक रूपमा बालमैत्री वडा घोषणा भएका हुन्।
    यस उपलब्धिसँगै सुर्यविनायक नगरपालिका पूर्ण रूपमा बालमैत्री स्थानीय शासन कार्यान्वयनतर्फ अग्रसर बनेको छ। नगरपालिकाले अब घोषणालाई व्यवहारमा उतार्दै बालबालिकाको अधिकार, सुरक्षा, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सहभागिता तथा समग्र विकास सुनिश्चित गर्न थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
    यस अवसरमा नगर प्रमुख बासुदेव थापाले बालमैत्री वडा घोषणा कुनै औपचारिक कार्यक्रमको समापन नभई बालबालिकाप्रतिको उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नयाँ सुरुआत भएको बताए। उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय सरकार, अभिभावक, विद्यालय, समुदाय र सम्पूर्ण सरोकारवालाले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै सुर्यविनायकलाई देशकै नमुना बालमैत्री नगरका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
    उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले बालमैत्री स्थानीय शासनको सफल कार्यान्वयन सबै पक्षको सहकार्य र सक्रिय सहभागिताको परिणाम भएको बताइन्। घोषणा गरिसकेपछि यसको प्रभावकारी कार्यान्वयन, निरन्तर अनुगमन र दिगोपनामा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानित र अवसरयुक्त वातावरणमा हुर्किने सुनिश्चित गर्न नगरपालिका निरन्तर क्रियाशील रहने बताइन्।
    यसैगरी नगरपालिकाका १० वटै वडा अध्यक्षहरूले बालमैत्री स्थानीय शासनका मापदण्डहरूलाई व्यवहारमा पूर्ण रूपमा लागू गर्दै प्रत्येक वडामा बालबालिकाको अधिकार, सुरक्षा, शिक्षा, स्वास्थ्य, संरक्षण र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निरन्तर काम गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले बालश्रम, बालहिंसा, बालविवाह, दुर्व्यवहार तथा बालअधिकार उल्लङ्घनका सबै प्रकारका घटनाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रत्येक वडालाई बालबालिकाका लागि सुरक्षित, समावेशी, उत्तरदायी र अवसरयुक्त वातावरणयुक्त बनाइने बताएका छन्।
    नगरपालिकाले यस अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, समावेशीकरण शाखा, १० वटै वडाका कर्मचारी, बाल सहजकर्ता, स्वास्थ्य तथा शैक्षिक संस्थाका प्रतिनिधि, विभिन्न संघ–संस्था, सञ्चारकर्मी, पत्रकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।
    नगरपालिकाले आगामी दिनमा सबै सरोकारवालाको निरन्तर साथ, सहयोग र सक्रिय सहभागितासहित सुर्यविनायकलाई अझ सुरक्षित, समावेशी, उत्तरदायी तथा देशकै उदाहरणीय बालमैत्री नगरका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्