काठमाडौं । नेपाल, भारत र बंगलादेशका अधिकारीहरूले नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न भएको त्रिपक्षीय सम्झौता ऐतिहासिक भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विकासमा यो सम्झौताले महत्त्वपूर्ण योगदान गर्ने बताए ।
बीबीआईएन क्षेत्रमा व्यापार साझेदारीमा यो महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो । यो पहललाई निष्कर्षमा पुर्याउन भारतको सहयोग महत्त्वपूर्ण भएको उनको भनाइ थियो । मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले आजको कार्यक्रम नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको बताए । आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बंगलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो,’ मन्त्री खड्काले भने ।
बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले यो सम्झौता दक्षिण एसियाली विद्युत् सहकार्यमा कोशेढुंगा भएको बताइन् । बंगलादेश जनतालाई स्वच्छ र सुरक्षित ऊर्जा उपलब्ध गराउन प्रतिबद्ध छ । त्यसका लागि यो महत्त्वपूर्ण कदम हो,’ उनले भने । भारत, नेपाल र बंगलादेशको पारस्परिक लाभका लागि यो महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । आगामी दिनमा यो सहकार्य अझै बढ्ने उनले बताइन् ।
बंगलादेशलाई अझै ठूलो मात्रामा स्वच्छ ऊर्जाको आवश्यकता छ । जुन नेपालको ठूलो सम्भावनाले पूर्ति गर्न सक्छ,’ उनले भनिन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दक्षिण एसियाली उपक्षेत्रीय विद्युत् साझेदारीका लागि भारत प्रतिबद्ध भएको बताए । नेपालले भरतमा विद्युत् निर्यात गर्न थालेदेखि अहिलेसम्म निकै ठूलो उपलब्धि हासिल गरेको उनले बताए । नेपालले आज १ हजार मेगावाट विद्युत् भारत निर्यात गर्न सक्छ । जबकि तीन वर्षअघि यो ३० मेगावाटबाट सुरु भएको थियो । गत आर्थिक वर्षमा नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो,’ उनले भने ।