News Portal

  • साइनिङ इङ्गलिस सेकेन्डरी स्कुलमा सकारात्मक अभिभावकत्वसम्बन्धी अभिमुखीकरण

    दोलागिरि संवाददाता२०८३ आश्विन ४
    ५६ पटक

    ३असोज२०८३ भक्तपुर । चाँगुनारायण नगरपालिका–५, साइनिङ रोड, पकुनेपाटीस्थित साइनिङ इङ्गलिस सेकेन्डरी स्कुलमा अभिभावक जागरण, अभिभावकत्व सहजीकरण तथा सकारात्मक अभिभावकत्व कलासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।


    असोज ३ गते शनिबार Swiss Homes Hospitality Party Palaceमा आयोजित उत्प्रेरणामूलक अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक प्रीतम पौडेलले अभिभावकत्वको भूमिका, विद्यार्थीको अध्ययन तथा भविष्य निर्माणमा अभिभावकको जिम्मेवारीलगायतका विषयमा सहजीकरण गरेका थिए।


    प्रशिक्षक पौडेलले विद्यार्थीको पढाइ, व्यवहार र भविष्य निर्माणमा विद्यालयसँगै अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। विद्यार्थीलाई केवल पढाइमा मात्र केन्द्रित गराउनेभन्दा उनीहरूलाई सक्रिय, सिर्जनशील, अनुशासित तथा सुसंस्कृत बनाउन घरको वातावरणले महत्वपूर्ण प्रभाव पार्ने उनको भनाइ थियो।
    उनले विद्यार्थीको रुचि, क्षमता र मनोविज्ञान बुझेर अभिभावकले व्यवहार गर्नुपर्नेमा जोड दिँदै बालबालिकालाई आफ्ना कुरा राख्ने अवसर दिने, उनीहरूका गतिविधिमा चासो राख्ने र सकारात्मक वातावरण निर्माण गर्ने अभ्यास आवश्यक रहेको बताए।

    अभिभावकको व्यवहार र पारिवारिक वातावरणले बालबालिकाको व्यक्तित्व विकासमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सकारात्मक अभिभावकत्वलाई व्यवहारमै लागू गर्नुपर्ने उनको भनाइ थियो।
    कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष बिक्रम ढुकुछुले असल अभिभावकत्वसँगै विद्यालयको जिम्मेवारीका विषयमा आफ्नो धारणा राखे। अभिभावकहरू कामको व्यस्ततामा रहँदा त्यसको गलत फाइदा बालबालिकाले लिन सक्ने अवस्थाप्रति सचेत हुनुपर्ने उनले बताए।

    अध्यक्ष ढुकुछुले विद्यालयले ‘प्रोग्रेसिभ एजुकेसन’ लाई प्राथमिकतामा राख्दै आगामी दिनमा शिक्षण–सिकाइलाई थप प्रभावकारी र विद्यार्थीकेन्द्रित बनाउँदै लैजाने योजना रहेको जानकारी दिए। त्यसका लागि विद्यालय र अभिभावकबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको भन्दै उनले अभिभावकहरूलाई विद्यालयको अभियानमा सहयोग गर्न आग्रह गरे।

    कार्यक्रममा सहभागी अभिभावकहरूले पनि विद्यार्थीको पढाइ, व्यवहार, विद्यालयको शैक्षिक पद्धति तथा अभिभावकको भूमिकासँग सम्बन्धित विभिन्न जिज्ञासा तथा सुझावहरू राखेका थिए। अभिभावकका जिज्ञासामाथि प्रशिक्षक तथा विद्यालयका प्रतिनिधिहरूले आवश्यक सहजीकरण गरेका थिए।
    विद्यालय व्यवस्थापन समितिका सदस्य बद्री खड्काले पनि कार्यक्रममा मन्तव्य राख्दै विद्यार्थीको समग्र विकासका लागि विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताए।

    कार्यक्रममा अभिभावकहरूलाई सुरज सुवालले स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए। विद्यालयकी माध्यमिक तहकी शिक्षिका शर्मिला खायमलीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
    विद्यालयले कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयको शैक्षिक यात्रामा अभिभावकहरूको निरन्तर साथ, सहयोग र माया प्राप्त हुने अपेक्षा गरेको जनाएको छ।

    विद्यालय परिवारले विद्यार्थीको गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय–शिक्षक–अभिभावकबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्