
आज म तपाईंहरूको माझ नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका वन्यजन्तुहरूको विषयमा केही विचार राख्न चाहन्छु। यो लेखमार्फत मैले उठाएका दृष्टिकोणबारे तपाईंहरूबाट सही–गलत जेसुकै प्रतिक्रिया प्राप्त भए पनि म त्यसलाई सकारात्मक रूपमा लिनेछु। तपाईंहरूको सुझावबाट आफूलाई सच्याउने र अझ राम्रो लेखनतर्फ अघि बढ्ने अवसर पाउनेछु भन्ने विश्वास लिएको छु।
आजको विषय नेपालमा रहेका वन्यजन्तुले पर्यटन क्षेत्रमा पुर्याएको योगदान हो।
नेपाल जैविक विविधताले भरिपूर्ण देश हो। यहाँ पाइने दुर्लभ र आकर्षक वन्यजन्तुले नेपाललाई विश्व पर्यटन नक्सामा अलग पहिचान दिलाएका छन्। विशेषतः चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँबाट सुरु भएको वाइल्डलाइफ टुरिजम नेपाल पर्यटनको एक महत्वपूर्ण आधार बनेको छ। चितवनको टाइगर टप जस्तो प्रतिष्ठित रिसोर्टले सन् १९६० को दशकदेखि नै नेपालमा वन्यजन्तु पर्यटनलाई व्यावसायिक रूपमा स्थापित गर्न ठूलो भूमिका खेलेको देखिन्छ। नेपालमा वाइल्डलाइफ टुरिजमको इतिहासमा टाइगर टप अग्रणी संस्था मानिन्छ।
चितवनमा पाइने एक सिंगे गैँडा, जो एसियामा मात्र पाइने दुर्लभ जनावर हो, नेपालकै पहिचान बनेको छ। यही गैँडा, बाघ, हात्ती, घडियाललगायत वन्यजन्तुको विश्वव्यापी प्रचार–प्रसारले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गरेको छ। यस अर्थमा, नेपालका वन्यजन्तुहरू स्वयं नेपालको पर्यटन राजदूत हुन्।
नेपालले विभिन्न कालखण्डमा विभिन्न देशहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ गर्न वन्यजन्तु उपहार दिएको ऐतिहासिक तथ्य पनि उल्लेखनीय छ। अहिलेसम्म नेपालले विभिन्न देशलाई २६ वटा गैँडा र २ वटा हात्ती उपहार दिएको रेकर्ड पाइन्छ। पछिल्लो समय कतारलाई हात्ती उपहार दिइनु केवल कूटनीतिक कदम मात्र नभई, विश्व पर्यटन बजारमा नेपालको अप्रत्यक्ष प्रचार पनि हो।
उपलब्ध तथ्याङ्कअनुसार नेपालले सन् १९८५ देखि २०१८ सम्म यसरी वन्यजन्तु उपहार दिएको देखिन्छः
भारतलाई सन् १९८५ मा ४ वटा गैँडा
संयुक्त राज्य अमेरिकालाई सन् १९८५ देखि २००० सम्म ६ वटा गैँडा
चीनलाई सन् १९८८ देखि १९९५ सम्म ४ वटा गैँडा
जर्मनीलाई सन् १९८९ देखि १९९२ सम्म २ वटा
बेलायत (UK) लाई सन् १९९० देखि १९९३ सम्म २ वटा
जापानलाई सन् १९९५ देखि १९९८ सम्म २ वटा
सिंगापुरलाई सन् २००० देखि २००२ सम्म २ वटा
बंगलादेशलाई सन् २००५ देखि २००७ सम्म २ वटा
अस्ट्रेलियालाई सन् २०१० देखि २०१२ सम्म २ वटा गैँडा
यस्ता उपहारहरू मूलतः देश–देशबीचको मैत्री, विश्वास र कूटनीतिक सम्बन्ध सुदृढ गर्ने माध्यम हुन्। विश्व इतिहास हेर्दा पनि उपहार दिने परम्परा अत्यन्तै पुरानो छ। प्राचीन कालदेखि नै धार्मिक, सांस्कृतिक वस्तु तथा दुर्लभ जनावर उपहार दिने चलन रहेको पाइन्छ। यसलाई शक्ति, समृद्धि र पहिचानको प्रतीकका रूपमा लिइन्थ्यो—“मेरो देशमा यस्ता अद्भुत वस्तु र जनावर छन्” भन्ने सन्देश दिनका लागि।
नेपालको इतिहासमा पनि लिच्छवि र मल्लकालमा हात्ती, घोडा, याक जस्ता जनावर भारत र तिब्बततर्फ उपहार तथा करस्वरूप दिने–लिने चलन रहेको किम्बदन्ती र ऐतिहासिक सन्दर्भहरूमा उल्लेख भेटिन्छ। भारत–तिब्बत–नेपाल व्यापारमा याक र घोडाको विनिमय प्रचलित थियो।
त्यस्तै, प्राचीन भारतको मौर्य र गुप्तकालमा कूटनीतिक उपहारका रूपमा हात्ती र घोडा दिने चलन थियो। सम्राट अशोकको समयमा विदेशी दूतहरूलाई जनावर उपहार दिइन्थ्यो भन्ने उल्लेख पाइन्छ। मिस्र, रोम र ग्रीसका शासकहरूले सिंह, चितुवा, बाँदरजस्ता जनावर उपहार दिने तथा शक्ति प्रदर्शनका लागि प्रयोग गर्ने गर्थे।
आज पनि उपहार दिने परम्परा यथावत् छ, तर अब यसलाई पर्यटनसँग कसरी जोड्ने भन्ने प्रश्न महत्वपूर्ण बनेको छ। नेपालका वन्यजन्तु केवल कूटनीतिक साधन मात्र होइनन्यी नेपाल चिनाउने सशक्त माध्यम हुन्। त्यसैले अब राज्यसँगै निजी क्षेत्रले पनि वाइल्डलाइफ टुरिजमबाट कसरी दिगो फाइदा लिन सकिन्छ भन्ने विषयमा गम्भीर सोच्ने बेला आएको छ।
कतारलाई हात्ती उपहार दिइनु विश्व पर्यटन बजारमा नेपालका लागि ठूलो प्रचार अवसर हो भन्ने मेरो ठम्याइ छ। यस्ता अवसरलाई रणनीतिक रूपमा उपयोग गर्न सके नेपालमा वन्यजन्तु पर्यटनको भविष्य अझ उज्ज्वल बन्न सक्छ।
अन्त्यमा,
नेपालका वन्यजन्तु हाम्रो प्राकृतिक सम्पदा मात्र होइनन्यी हाम्रो पहिचान, कूटनीति र पर्यटनको मेरुदण्ड हुन्।










