
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले जेठ महिनामा दुई महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ। संघले “दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला–२०८३” तथा “स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन–२०८३” आयोजना गर्न लागेको पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो।
सम्मेलनमा संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार “हस्तकला, मौलिक संस्कृति र दीगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन” भन्ने नारासहित जेठ १५ र १६ गते भक्तपुर औद्योगिक क्षेत्र परिसरमा दोस्रो औद्योगिक प्रवर्द्धन व्यापार मेला आयोजना गरिनेछ। मेलामा भक्तपुर जिल्लाका मौलिक उत्पादन, हस्तकला सामग्री, कृषि उत्पादन, तयारी पोशाक, बालबालिकाका खेलौना, गरगहना, सौन्दर्य सामग्री, मूर्ति तथा उपहार सामग्री, स्थानीय खाद्य परिकार लगायतका वस्तु प्रदर्शन तथा बिक्री गरिने जनाइएको छ।
मेलामा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, बाल उद्यान तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिने संघले जनाएको छ। मेला बिहान १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ भने प्रवेश निःशुल्क रहने बताइएको छ।
त्यसैगरी, जेठ ३ गते सूर्यविनायक नगरपालिका–८ स्थित बलागामतीमा “स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन–२०८३” आयोजना हुने भएको छ। सम्मेलनमार्फत नेपालमा स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिको विकास, युवा उद्यमशीलताको प्रवर्द्धन, लगानी तथा बजार पहुँच विस्तार, नीति संवाद र उद्यममैत्री वातावरण निर्माण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
सम्मेलनमा ३०० देखि ५०० जनासम्मको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा प्यानल डिस्कसन, फाउन्डर स्टोरी सेसन, स्टार्टअप प्रदर्शनी तथा पिच डेक सेसन आयोजना गरिनेछ। प्यानल डिस्कसनको मुख्य विषय “You Had to Build from Zero in Nepal Today, Which Sector Would You Bet On, and Why?” रहने जनाइएको छ।
संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले यी कार्यक्रमले भक्तपुरमा उद्योग, व्यापार, पर्यटन र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै कार्यक्रम सफल बनाउन सञ्चारकर्मी, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ।












