News Portal

  • एक वर्षको प्रतिक्षा : तिमी बिना म

    अन्तिम ‘अ’ को पीडा : एक वर्षको बिछोडको स्मरण

    राम सुन्दर बके २०८२ भाद्र ८
    ४५४ पटक

    २०५० साल फागुन २५ गते  शिवरात्रिको अघिल्लो साँझ हाम्रो परिवारमा एउटा नयाँ जीवनले पहिलो कदम राख्यो। आमा बुबाको काखमा जन्मिएको त्यो बालक केवल हाम्रो घरको मात्र नभई हाम्रो सम्पूर्ण जीवनको उज्यालो थियो। पहिलो रुवाइ पहिलो मुस्कान पहिलो हाँसो सबैले हाम्रो संसारलाई नयाँ अर्थ दिएको थियो। हामीले सोचेका थियौँ अब जीवनको यात्रा नयाँ अध्यायबाट सुरु हुन्छ। उसको नाम ‘अ’ अक्षरले सुरु गरियो। सोचेका थियौँ ‘अ’ भनेको आरम्भ हो तर समयले देखायो कसरी त्यो ‘अ’ नै अन्त्यको प्रतीक पनि बन्न सक्छ।

    तिमी थियो भने सानो काम पनि सहज लाग्थ्यो मुस्किल सजिलो लाग्थ्यो घर उज्यालो लाग्थ्यो। तर आज तिमी बिना हरेक सानो कुरा पनि पहाड जस्तै भारी लाग्छ। तिमी शिवरात्रिको दिन महादेवको प्रसादझैँ यो धर्तीमा अवतरित भयौ। तिम्रो आगमनले आमा–बाबालाई परिवारलाई सम्पूर्ण परिवेशलाई हर्षले भरिदियो। तर दुर्भाग्यवश तिम्रो यात्रा छोटो भयो।

    हलेसी महादेव दर्शन गर्न जाँदा हामी कसैले तिमीलाई रोक्न सकेनौँ। छोरीले बाबालाई रोक्न चाही आफ्नै निरिह स्वरमा भनिन् तर त्यो पनि पुग्दैन रहेछ। भगवानको नाममा गरिएको यात्राले तिमीलाई फर्केर आउन दिएन। आज तिम्रो छोरी एक वर्षकी भइसकेकी छे तर उसको पहिलो शब्द नै ‘बा बा’ हो। नानीले तिम्रो अनुहार चिन्न पनि नपाई तिम्रो काख पाउन पनि नपाई तिम्रो नाम पुकार्दै बढिरहेकी छे। उसको निर्मल पुकारले हाम्रो हृदय चिरिन्छ आँसु रोकिँदैन।

     

    हामीलाई लाग्छ भगवानले किन यस्तो गरे? तिमीले जीवन दिएर सुख देखायौ तर किन आधा बाटोमै बिछोड दिएर गयौ? पिताको सपना हुन्छ पुत्रको हातबाट श्राद्धकर्म लिएर मुक्ति पाउने। तर तिमीले त्यो बाटो बीचमै छोड्यौ। के यो श्राप थियो? के यो कुनै अदृश्य बन्धन थियो? कहिलेकाहीँ लाग्छ अष्ट बसुहरू जसरी ऋषि वशिष्ठको श्रापले अल्पकालीन जीवन बिताउन धर्तीमा आएका थिए तिमी पनि त्यसरी आएको होलौ। तर म र आमा गंगा शान्तुन होइनौँ हामीले यो पीडा बोक्न सक्दैनौँ।

    तिमी बिना यो घरमा पानी परेको छैन जस्तो लाग्छ। आमाले हरेक रात आँसुमा कपडा धोउछिन् म बिहान आँसुमा कुचो लगाउँछु। हाम्रो सबै चाडपर्व आँसुले नै मनाइन्छ। नानीको पहिलो जन्मदिनमा पनि हाम्रो खुशी आधा अधुरो रह्यो।

    हिजो तिमी साथमा थियौ भने हनुमानले जसरी पहाड उचाल्छ, त्यस्तै बल अनुभव हुन्थ्यो। आज तिमी बिना धूलो पनि भारी लाग्छ। तिमीले कहिल्यै स्वार्थी हुन सिकेनौ तर बिदाइमा भने स्वार्थी भयौ। तिमीले छोरीलाई पनि बाबा भनेर बोलाउन सिकाउन पाएनौ, तर उसले स्वाभाविक रूपमा ‘बा बा’ भनिरहेकी छे। उसको त्यो पुकार सुनिरहेको छौ कि छैनौ त्यो हामीलाई थाहा छैन। तर हामी अझै आसामा छौँ शायद त्यो पुकारले तिमीलाई फर्काउँछ।

    हामीले धेरै मिथक र कथा सम्झ्यौँ
    रामले सरयू नदीमा प्रवेश गरेको
    लक्ष्मणले जल समाधि लिएको
    ऋषि अगस्त्यले समुद्रलाई सुकाएको
    बुद्धले सत्यको बाटो रोजेको।
    शायद तिमी पनि तीमध्ये कुनै यात्रामा छौ।

    तर सत्य यही हो तिमीले सुख सबै आफूसँगै लग्यौ र यो धर्तीमा हामीलाई मात्र पीडाको महासागरमा छोड्यौ।

    छोरा आज एक वर्ष भयो तिमी बाटो बिराएको।
    तर हाम्रो हृदयमा तिमी अझै जीवित छौ।
    तिम्रो छोरी हरेक दिन ‘बा बा’ भन्दै भगवानसँग मागिरहेकी छे।
    हामी पनि त्यही आसामा छौँ तिमी फर्केर आउला भन्ने विश्वासमा।

    प्रतिकृया दिनुहोस्