News Portal

  • डोलेश्वर महादेवमा श्रावणी मेला साउन १देखि, भाद्र ६ सम्म विविध धार्मिक कार्यक्रम सञ्चालन हुने

    दोलागिरि संवाददाता२०८३ आषाढ ३१
    २० पटक

    भक्तपुर, असार ३१। केदारनाथको शिरका रूपमा परिचित डोलेश्वर महादेव मन्दिरमा २०८३ सालको श्रावणी मेला श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म भव्य रूपमा सञ्चालन हुने भएको छ। मेलाको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले यस वर्ष पनि ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गर्दै आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ।
    समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार २०६६ साल भाद्र ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शिरोभागका रूपमा घोषणा गरिएपछि यसको धार्मिक महत्त्व र गरिमा निरन्तर बढ्दै गएको छ। यही महत्त्वलाई मध्यनजर गर्दै यस वर्षको श्रावणी मेलालाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन १४ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।
    भक्तजनलाई सहज रूपमा दर्शन गराउने उद्देश्यले विभिन्न संघसंस्था, टोल सुधार समिति तथा महिला समूहहरूसँग समन्वय गरी मेला अवधिभर स्वयंसेवक परिचालन गरिने जनाइएको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन मन्दिर परिसरमा सिसिटिभी जडान गरिएको छ।
    भक्तजनको स्वास्थ्य सुरक्षाका लागि रणशेर गण, सूर्यविनायक नगर अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती तथा डोलेश्वर प्रहरी चौकीबाट सुरक्षा व्यवस्था मिलाइनेछ भने यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीको विशेष परिचालन गरिने समितिले जनाएको छ।
    पत्रकार सम्मेलनमा समितिले श्रावणी मेलालाई सभ्य, भव्य र सफल बनाउन सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ।
    कार्यक्रम तालिका अनुसार श्रावण १ गते बिहान ७ बजे पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलश यात्रा निकालिनेछ। सोही दिन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले श्रावणी मेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
    त्यसैगरी श्रावण २ गतेदेखि भाद्र ५ गतेसम्म विभिन्न धर्मगुरुहरूबाट धार्मिक प्रवचन तथा कलाकारहरूबाट भजन–कीर्तन कार्यक्रम सञ्चालन हुनेछ।
    भाद्र ६ गते वार्षिक उत्सवका अवसरमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यमा श्रावणी मेलाको समापन गरिने कार्यक्रम रहेको समितिले जनाएको छ।

    प्रतिकृया दिनुहोस्