
ललितपुर, कार्तिक २९ गते – ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको २८औँ स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा आज एक विशेष कार्यक्रम सम्पन्न गरिएको छ। संघका अध्यक्ष श्री कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा तथा बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय मदुसुदन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्मारिका पुस्तक विमोचन, दुग्ध क्षेत्रको समस्या–सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम मुख्य आकर्षण बनेका थिए।

कार्यक्रममा ललितपुर जिल्लाका ६ वटै स्थानीय तहबाट एक–एक जना उत्कृष्ट दुग्ध उत्पादक किसानलाई सम्मान गरिएको छ। त्यस्तै जिल्लाका उत्कृष्ट युवा तथा साना दुग्ध उत्पादक किसान, उत्कृष्ट महिला दुग्ध उत्पादक किसान, संघका पूर्व कर्मचारी तथा पूर्व सञ्चालक समितिका पदाधिकारी, उत्कृष्ट डेरी उद्योगी तथा उत्कृष्ट दुग्ध उत्पादक सहकारी संस्थालाई विशेष सम्मान प्रदान गरिएको थियो।

दुग्ध उत्पादन क्षेत्रमा देखिएका समस्या, समसामयिक चुनौती तथा विकासका सम्भावनाबारे आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूद्वारा नीतिगत सुधार, बजार विस्तार, सहकारी सुदृढीकरण, मूल्य स्थिरता, ऊर्जा तथा प्रविधिको उपयोगदेखि किसानका हक–अधिकारका विषयमा महत्वपूर्ण सुझावहरू राखिएका थिए।

कार्यक्रमको प्रमुख अतिथि मन्त्री पौडेलले दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै सरकारले दुग्ध किसानको संरक्षण र प्रवर्द्धनमा ठोस नीति ल्याउन प्रतिबद्ध रहेको बताए। अध्यक्ष सापकोटाले संघले विगत २८ वर्षमा हासिल गरेको उपलब्धि, चुनौती तथा आगामी योजना प्रस्तुत गर्दै सबै तहका किसान, सहकारी, उद्योगी र सरकारसँग सहकार्यमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

रजत जयन्तीको अवसरमा प्रकाशन गरिएको स्मारिका पुस्तकमा संघको इतिहास, उपलब्धि, सदस्य सहकारीहरूको विवरण, दुग्ध व्यवसाय सम्बन्धी अध्ययन तथा किसानका अनुभव समेटिएका छन्।
कार्यक्रममा किसान, सहकारी प्रतिनिधि, उद्योगी, प्राविधिक, स्थानीय जनप्रतिनिधि तथा प्रदेश र स्थानीय तहका सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।




















