
काठमाडौं। नेपाल चलचित्र निर्माता संघको १९औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। नयाँ नेतृत्व चयनसँगै संघको आगामी कार्यकालप्रति उद्योगका विभिन्न पक्षले अपेक्षा व्यक्त गरेका छन्।
निर्वाचनबाट अध्यक्षमा उदय सुब्बा विजयी भएका छन्। उपाध्यक्षमा ज्योतिराज राई र रौनकविक्रम कँडेल सर्वसम्मत चयन भएका छन्। त्यसैगरी महासचिवमा खगेन्द्रप्रसाद लामिछाने, सचिवमा युवराज गिरी, र कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा श्रीधर पौडेल, चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, घनेन्द्र थपलिया, मनोजकुमार अधिकारी, राजकुमार पण्डित र प्रवीण कार्की निर्विरोध चयन भएका छन्।
नव–निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै एक शुभकामना सन्देशमा भनिएको छ–
“आसन र भाषणमा भन्दा संघका सबै भोटर सदस्यहरुको हक र हितका लागि उत्तरदायी हुनमा मन र समयको प्रयोग होस्। चलचित्र क्षेत्रले सम्झने कार्यकाल बनोस्। पूर्व अध्यक्ष यादब खरेल, निर शाह, युवराज लामा, अशोक शर्मा लगायतको नेतृत्वकालभन्दा पनि अधिक प्रभावकारी र उन्नत कार्यकाल होस्। कुनै व्यक्ती वा समुदायको मात्र प्रभावमा नपरी सम्पूर्ण क्षेत्रका हितका लागि काम गर्न सकून्।”
सन्देशमा आवश्यकता परे सुझाब तथा सल्लाहका लागि साथ र सहयोग गर्न सकिने उल्लेख गरिएको छ।
चलचित्र निर्माता संघको नयाँ नेतृत्वले घरेलु चलचित्र उद्योगको संरचनागत सुधार, लगानी सुरक्षा, बजार विस्तार र नीतिगत सुधारका मुद्दामा सक्रियता देखाउने अपेक्षा गरिएको छ। उद्योग भित्र धेरै समयदेखि उठ्दै आएको पारदर्शिता, डिजिटल पहुँच, र निर्माता अधिकारका सवालहरू समाधान गर्न नयाँ नेतृत्व सक्षम हुने विश्वास समेत गरिएको छ।





















