News Portal

  • राजनितिक पार्टीहरुमा मात्र होइन, समाजमै बहस र सङ्घर्षको संकट छ: विप्लव

    दोलागिरि संवाददाता२०८२ भाद्र १२
    ७६ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुकको राजनीतिक र कम्युनिस्ट आन्दोलन दिग्भ्रमित भएको बताएका छन् ।

    सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बुटवलमा बिहीबार आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रियामा बोल्दै उनले सबै राजनीतिक दलहरू विवाद र आपसी संघर्षमा फसेको बताए ।

    “नेपालको राजनीतिक र कम्युनिस्ट आन्दोलन दिग्भ्रमित छ, रनभुल्ल जस्तो भएको छ,” विप्लवले भने, “दिग्भ्रमबाट दिग्दर्शन आवश्यक छ । जनताको विश्वास, एकता र आकाङ्क्षाको प्रतिनिधित्व गर्ने बाटो रोजिनुपर्छ ।”

    उनका अनुसार कुनै पनि पार्टी विवादमुक्त छैनन् । “ठूलो सानो सबै पार्टीमा लडाइँ छ । दुई जना भएर मुक्कामुक्की नगरेको पार्टी छैन ,” उनले भने, “यो समस्या पार्टीमा मात्रै होइन, समाजमै रहेको बहसको प्रतिविम्ब हो ।”

    विप्लवले पुराना कानुन, सीमित हातमा अर्थतन्त्रको कब्जा, बढ्दो भ्रष्टाचार र गणतन्त्रले अपेक्षित रूपान्तरण दिन नसकेको अवस्थालाई हालको संकटको मूल कारण बताए । उनले भनाइमा थपे, “जनताका अधिकार सुनिश्चित भएको छैन, राज्य रूपान्तरण हुन सकेको छैन । नेताहरूले जनतालाई भ्रमित मात्र पारेका छन् ।”

    उनले पैसाको वर्चस्व राजनीतिमा हावी भएको भन्दै नयाँ भनी प्रस्तुत हुने दल र नेताहरू समेत चुनावमा करोडौं खर्च गर्ने अवस्था खतरनाक संकेत भएको चेतावनी दिए ।

     

    प्रतिकृया दिनुहोस्