
भक्तपुर । रसुवा र नुवाकोटमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि भक्तपुरको ग्लोरी इङ्गलिस सेकेण्डरी स्कूलले रु. ७५ हजार राहत सहयोग गरेको छ।
विद्यालयका अभिभावक, विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालय परिवारबाट स्वेच्छिक रूपमा संकलित उक्त रकम प्याब्सन भक्तपुरमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गरिएको विद्यालयले जनाएको छ।
विपत्तिका कारण अमूल्य जीवन गुमाउने सम्पूर्णप्रति विद्यालय परिवारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित घाइते तथा विस्थापित नागरिकको शीघ्र उद्धार, उपचार र पुनर्स्थापनाको कामना गरिएको छ।
विद्यालयले विपत्तिको समयमा पीडित परिवारलाई राहत तथा सहयोग पुर्याउनु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै सहयोग अभियानमा सहभागी हुने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरेको छ।
“विपत्तिमा परेको समुदायलाई हाम्रो सानो सहयोगले पनि आशा र भरोसा दिन सक्छ,” भन्ने मान्यताका साथ विद्यालयले मानवीय सेवामा आफ्नो सहभागिता जनाएको जनाएको छ।
ग्लोरी इङ्गलिस सेकेण्डरी स्कूल मध्यपुर थिमि–९, भक्तपुरमा रहेको विद्यालय हो। विद्यालयले शिक्षा क्षेत्रमा आफ्नो नियमित भूमिकासँगै सामाजिक तथा मानवीय गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ।

















