काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्चमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१६ प्रतिशत अर्थात ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८२ प्रतिशतले घटेर ४६०.११ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा भन्छन्, ‘दशैंतिहारको दबाबले गर्दा बजारमा गिरावट आएको देखिन्छ । यो बेला सधैं बजार घट्छ भन्ने मनोविज्ञानले काम गर्ने गर्छ । यद्यपी यो बुलभित्रकै करेक्सन हो । बजारमा २५ सय विन्दुमा मनौवैज्ञानिक सपोर्ट रहेको छ ।’
अर्का बजार जानकार दामोदर गजुरेलले पनि बजारमा चाडपर्वका कारण बिक्री दबाब परेको हुनसक्ने बताए । ‘बजार् केही समय साइडवेज पनि जान सक्छ । प्राविधिक रुपमा पनि सबै इन्डिकेटरले बिक्री दबाब नै परेको देखिन्छ । २ हजार बाट ३ हजार पुगेको बजारमा केही पुराना फसेकाहरु निस्केको र नयाँ लगानीकर्ता प्रवेश नगरेका कारण बजारको बढाइ दिगो हुन नसकेको हो,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज वित्त समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ५।६६ प्रतिशतले घट्यो ।यस्तै आज बैंकिङ समूह १.५९ प्रतिशत,विकास बैंक २.७२, वित्त ५.६६,होटल २.७९, हाईड्रो २.२८,लगानी २.५३,जीवन बीमा १.९१,उत्पादन तथा प्रशोधन १.७१,लघुवित्त २.४३,म्युचुअल फण्ड १.१७,निर्जीवन बीमा १.९१ र अन्य समूह २.३३ प्रतिशतले घट्यो ।