भक्तपुर । शनिबार भक्तपुरको दुवाकोटस्थित दुवाकोट सिटी पार्टी प्यालेसमा एउटा रोचक दृश्य देखियो । जहाँ गोल्डेन सुनभागा इंलिस बोर्डिङ स्कुलका विद्यार्थीले ठ्याक्कै संघीय संसदको झल्को दिनेगरी कार्यक्रम गरिरहेका थिए । कार्यक्रम हलभित्र राखिएको टेबलमा सभामुख, उपसभामुख, संसद सचिवालय र त्यसको विपरीत रहेका डेक्समा प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष, प्रमुख सचेतक लेखिएको नेमप्लेट सहित कोट र पाइन्टमा विद्यार्थीहरु सजिएर बसेका थिए ।
यत्तिकैमा संघीय संसदका सभामुख देवराज घिमिरे हलभित्र प्रवेश गरे । र, नमूना संसदकी सभामुखले आसन ग्रहणका लागि अनुरोध गरिन् । अनि बज्यो राष्ट्रिय धुन ।राष्ट्रिय धुन सकिएसँगै नमूना संसदकी सभामुखले कार्यक्रमबारे विद्यालयका प्रिन्सिपल महेशचन्द्र गौतमलाई पाँच मिनेटभित्र आफ्नो भनाइ राख्न आग्रह गरिन् । प्रिन्सिपल गौतमले राजनीतिप्रति विद्यार्थीको धारणा परिवर्तनका लागि सहयोग पुर्याउन र संसदको गतिविधिबारे प्रयोगात्मकरुपमै जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।
प्रिन्सिपलको भनाइपछि संसदकै झल्को दिनेगरी कार्यक्रम अघि बढ्यो । सांसदहरुले शून्य समयमा आफ्नो धारणासँगै प्रधानमन्त्री र विभागीय मन्त्रीको जवाफ मागे । सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले जवाफ दिइसकेपछि सांसदहरुले संघीय संसदका सभामुख घिमिरेलाई विभिन्न समसामयिक विषयमा जिज्ञासा राखे ।
सभामुखले सांसदका प्रश्नको जवाफ दिइसकेपछि नमूना संसदकी सभामुखले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ निरौलालाई भनाइ राख्न अनुरोध गरिन् ।अध्यक्ष निरौलाले विद्यार्थीलाई संसदका गतिविधिबारे प्रयोगात्मकरुपमै बुझाउन यो कार्यक्रम आयोजना गरिएको बताए । र, नमूना संसदकी सभामुखले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरौलाले संसद अधिवेशन सकिएको पत्र पढेर सुनाइन् । र कार्यक्रम सकियो ।