News Portal

  • २८औँ सांस्कृतिक प्रतिरोध दिवसः सहिद कलाकारको सम्झना गर्दै नेताहरूको एकता र प्रतिरोधको आह्वान

    दोलागिरि संवाददाता२०८२ चैत्र ६
    २५ पटक

    ५ चैत्र २०८२ काठमाडौं । २८औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा जनयुद्धकालीन सांस्कृतिक सहिदहरूको सम्झना गर्दै नेताहरूले वर्तमान राजनीतिक परिस्थिति, अधुरा एजेन्डा र सांस्कृतिक आन्दोलनको आवश्यकताबारे धारणा व्यक्त गरेका छन्।


    अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा राज्यद्वारा जिउँदै जलाइएका जनकलाकारहरूको बलिदानलाई स्मरण गर्दै उक्त घटनालाई नेपाली सांस्कृतिक आन्दोलनको ऐतिहासिक मोडका रूपमा व्याख्या गरे। कार्यक्रममा च्याङ्बा लामा, चिनिमाया लामा, गुम्बासिं तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, शुभद्रा सापकोटा, मञ्जु कुँवरलगायत सहिद कलाकारहरूको तस्बिरसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो।


    कार्यक्रममा बोल्दै वक्ताहरूले सांस्कृतिक आन्दोलनलाई केवल कला–सिर्जनाको विषय नभई वर्गीय संघर्ष र राजनीतिक रूपान्तरणसँग जोडिएको महत्वपूर्ण मोर्चाका रूपमा लिनुपर्ने बताए। उनीहरूले सांस्कृतिक कर्मीहरू दमन, हत्या र उत्पीडनको निशाना बन्नुपरेको इतिहास स्मरण गर्दै आज पनि परिवर्तनका एजेन्डा अधुरा रहेको धारणा राखे।


    वक्ताहरूले विशेषगरी सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) जस्ता शान्ति प्रक्रियासँग जोडिएका मुद्दाहरू अझै समाधान हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै पुराना राजनीतिक शक्तिहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए। उनीहरूले अब नयाँ पुस्ताका नेतृत्वले ती मुद्दाहरूलाई प्राथमिकताका साथ उठाएर निष्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए।


    उनीहरूले भने, “जनयुद्धको बलिदान र उपलब्धिलाई संस्थागत गर्न नसक्दा आजको राजनीतिक संकट गहिरिएको छ। यदि अब पनि राज्य र नेतृत्वले जनताको पीडा र इतिहासप्रति संवेदनशीलता देखाएन भने नयाँ प्रकारको असन्तोष र विद्रोह जन्मिन सक्छ।”
    कार्यक्रममा नेताहरूले सम्पूर्ण उत्पीडित सांस्कृतिक कर्मीहरूलाई एकताबद्ध हुन आह्वान गर्दै सांस्कृतिक प्रतिरोधलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। “सांस्कृतिक मोर्चा नै चेतना र परिवर्तनको आधार हो, यसलाई कमजोर हुन दिनुहुन्न,” वक्ताहरूले जोड दिए।


    उक्त अवसरमा विभिन्न कविहरूले प्रतिरोध र बलिदानका विषयमा कविता वाचन गरेका थिए भने कलाकारहरूले जनवादी गीतमार्फत कार्यक्रमलाई भावनात्मक बनाएका थिए। कार्यक्रममा सहभागीहरूले सांस्कृतिक सहिदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूको अधुरो सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    प्रतिकृया दिनुहोस्