मुक्तान थेवा२०८१ आश्विन २७
भीरको अक्करहरुमा
त्यसले पनि खेल्छ- पीङ ।
चुँडिन्छ जिन्दगी र
बन्छ वियोगको कथा ।
जंगलको यात्रा –
पातहरुको सुसेली ।
भीरमाथिको हिँडाई-
बाध्यताको पसिना ।
दाउँमा राखेर जिन्दगी-
अभावसंगको युद्ध ।
तर्नुलाई नदी । जोड्नुलाई गाउँ ।
भेट्नुलाई आफन्त । साट्नुलाई दु:ख ।
बाध्यताले बिर्सेको सुख ।
आवश्यकताले भुलेको मृत्यु ।
हिँड्नेलाई त हिँड्नु कै मजा ।
तर्नेलाई त तर्नुमै खुसी ।
हो……
त्यसले लेखिराखेको छ गाउँको दु:ख
त्यसले बोकिराखेको छ बाध्यताको इतिहास ।
जानू… त्यो सुदूर गाउँको दु:खलाई भेट्न जानू
र, सुमसुम्याउनु दु:खको अनुहार ।