
काठमाडौं, जेठ २ — जलवायु परिवर्तन, पर्वतीय पारिस्थितिकी, र मानवताको भविष्यबारे गहिरो विमर्श गर्न आयोजित ‘सगरमाथा संवाद २०२५’ कार्यक्रम आजदेखि काठमाडौंको सोल्टी होटेलमा सुरु भएको छ। नेपाल सरकारको आयोजनामा सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा १२ देशका १७५ विदेशी पाहुना र करिब ३५० भन्दा बढी स्वदेशी सहभागी सहभागी छन्।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त संवादको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो। उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सगरमाथाको काखबाट हामी विश्वलाई स्पष्ट सन्देश दिन्छौं—पहाडको संरक्षण गर्नु भनेको पृथ्वी, समुद्र र मानवताको संरक्षण गर्नु हो।”
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विशेष भिडियो सन्देशमार्फत सम्मेलनलाई शुभकामना व्यक्त गर्दै जलवायु न्यायका लागि नेपाल जस्तो पहाडी राष्ट्रको नेतृत्व सराहनीय रहेको बताउनुभयो। उद्घाटन सत्रमा भारत, चीन, अजरबैजान लगायतका राष्ट्रका उच्च प्रतिनिधिहरूले पनि आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा ६१ स्वदेशी तथा विदेशी संस्थाहरूको सहभागिता रहेको छ, जसमा सार्क, बिम्स्टेक, एडीबी, विश्व बैंक, विश्वविद्यालय, अनुसन्धान केन्द्र र नागरिक समाजका प्रतिनिधिहरू रहेका छन्।
संवादको क्रममा १२ वटा समानान्तर सत्रहरू सञ्चालन हुनेछन्, जहाँ हिमाली क्षेत्रको पारिस्थितिकी संरक्षण, जलवायु न्याय, जोखिम न्यूनीकरण, कार्बन वित्तीयन, नवप्रवर्तनशील समाधानहरू, र समुद्र–पर्वत अन्तरसम्बन्ध जस्ता विषयमा गहिरो छलफल गरिनेछ।
संवादको अन्तिम दिन, जेठ ४ गते, एक विशेष घोषणापत्र—‘काठमाडौं घोषणा’ जारी गरिनेछ, जसमा जलवायु संकट समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य र प्रतिबद्धताको संकेत हुनेछ। साथै, विदेशी अतिथिहरूका लागि पर्वतीय अवलोकन उडानको समेत व्यवस्था गरिएको छ।
‘सगरमाथा संवाद’ को यो संस्करणले जलवायु संकट समाधानमा नेपालले पहाडी राष्ट्रको हैसियतमा विश्वलाई नेतृत्व दिने प्रयासका रूपमा महत्वपूर्ण सन्देश दिएको आयोजकहरूले बताएका छन्।