News Portal

  • भक्तपुरमा हुने भयो दोश्रो दशैं सस्तो व्यापार मेला २०८२

    दोलागिरि संवाददाता२०८२ आश्विन २
    १५८ पटक

    भक्तपुर, असोज १ – आउँदो शुक्रबार असोज ३ गतेदेखि भक्तपुरको महेश्वरी खेल मैदानमा दोश्रो भक्तपुर दशैं सस्तो व्यापार मेला – २०८२ सुरु हुने भएको छ।

    बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले महान पर्व दशैं तथा नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा मेलाको आयोजना गर्न लागेको जानकारी गरायो। मेला असोज ३ गतेदेखि १२ गतेसम्म भक्तपुर नगरपालिका–७, महेश्वरी फुटबल मैदान, हनुमानघाटमा सञ्चालन हुने जनाइएको छ।

    संयोजक संगम लामाका अनुसार मेलाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ र अब स्टल निर्माण लगायतका अन्तिम काम तीव्र गतिमा भइरहेको छ। मेलामा ५० भन्दा बढी स्टल रहने छन्। स्थानीय व्यापारीहरुलाई न्यून शुल्कमा स्टल उपलब्ध गराइने बताइएको छ।

    मेलामा दैनिक उपभोग्य सामान, कपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता, हस्तकला तथा कृषि औजारसहितका सामग्रीहरु विशेष छुटसहित उपलब्ध हुनेछन्।

    मनोरञ्जनका लागि बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, वाटर बल्ब, मिकी माउस, टेम्पालिन, स्करपियोलगायत आकर्षक खेल सामग्री रहनेछन्। साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य, गीत–संगीतका प्रस्तुति हुने व्यवस्थापक बलराम श्रेष्ठले जानकारी दिए।

    मेलामा विद्यार्थीका लागि प्रवेश शुल्क रु. ५०, सर्वसाधारणका लागि रु. ७० तोकिएको छ भने ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

    शनिबार विशेष सांस्कृतिक कार्यक्रमका साथै केडी थ्री डान्स कल्चर एकेडेमी प्रा.लि. भक्तपुर को विशेष प्रस्तुति रहने जनाइएको छ। मेलाको उद्घाटन भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले गर्ने कार्यक्रम रहेको बताइएको छ।

    प्रतिकृया दिनुहोस्