News Portal

  • नेपाल–भारत रङ्ग महोत्सव शुरु, पहिलो दिन नेपाली नाटक गच्छामी मञ्चन

    दोलागिरि संवाददाता२०८१ माघ २४
    ३० पटक

    काठमाडौँ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अयोजनामा काठमाडौँमा ६ दिने नेपाल भारत रंग महोत्सव बुधबार शुरु भएको छ । राष्ट्रिय नाट्य विद्यालय नयाँ दिल्ली भारतको सहकार्य रहेको महोत्सवलाई एक कार्यक्रमका बिच राष्ट्रिय नाचघर जमलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्नुभयो ।

    महोत्सवलाई शुभकामना दिनु हुँदै मन्त्री पाण्डेले नेपाल र भारतबिच राजनीतिक र कूटनीतिक भन्दा उपल्लो तहमा सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्नु हुँदै यस प्रकारका महोत्सवले उक्त समबन्धलाई झन् घनिभूत बनाउने बताउनुभयो । मन्त्री पाण्डेले अर्को एक प्रसंगमा जलवायु परिवर्तनले मानवसभ्यता मात्र नभएर सिंगो पृथ्वीको आयुमै प्रश्न उठिरहेकोले अब रंगमञ्च र कलाकर्मीले त्यसतर्फ सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो ।
    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले हजारौं वर्षदेखि नेपाल(भारतबीच कायम रहेको सांस्कृतिक सम्बन्धलाई महोत्सवले झनै जीवन्त तुल्याएको विचार व्यक्त गर्नुभयो । सभ्यता, भाषा, धर्म, परम्परा तथा कलासंस्कृतिमा दुई देशबिच सक्दो मात्रामा समानता रहेको चर्चा गर्नु हुँदै यस महोत्सवले दुवै देशका दर्शक तथा कलाकारहरूलाई नाट्यकला, अभिनयशैली, कथानक संरचना तथा रंगमञ्च प्रविधिको नयाँ दृष्टिकोण सिक्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहिलो पटक आयोजना भएको नेपाल भारत रंग महोत्सवले दुई देशको सम्बन्धलाई गहिरो र प्रगाढ बनाएको आफूलाई महसुस भएको भन्दै हरेक वर्ष महोत्सवलाई निरन्तरता दिनुपर्ने राय राख्नुभयो । त्यसै गरी राष्ट्रिय नाट्य विद्यालय नयाँ दिल्ली भारतका सेक्रेटरी प्रदीप कुमार महन्थीले सन् १९९९ देखि भारतव्यापी रुपमा आयोजना हुँदै आएको भारत रंग महोत्सवको २६ औँ संस्करणको अवसरमा यस वर्षदेखि नेपाल र श्रीलंकामा समेत महोत्सवलाई विस्तार गरेर अन्तर्राष्टियकरण गरिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा भारतीय पर्यटन मन्त्रालयका निमित्त सचिव रंजना चोपराले रंगमञ्च मनोरञ्जनको लागि मात्र नभएर आध्यात्मिक, वैचारिक एवम् दार्शनिक अभिव्यक्तिको माध्यम समेत भएकाले यस्ता महोत्सवबाट दुई देश बिचका संस्कृति, बुझाइ, कला र मनोविज्ञानको परस्पर आदानप्रदान हुने दाबी गर्नुभयो । रंगमञ्च सशक्त हुँदा समाज पनि सशक्त हुने विचार राख्नु हुँदै महन्थीले यस महोत्सवका अवसरमा भारतमा मात्र अढाइ हजारभन्दा बढी रंगकर्मीको सम्मिलन हुँदै आएको दाबी गर्नुभयो ।

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भू राईले आमन्त्रित अतिथिहरुलाई स्वागत गर्नु हुँदै भारतको प्रतिष्ठित राष्ट्रिय नाट्य विद्यालयसँग सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले महोत्सवलाई केवल प्रस्तुतीकरणको मञ्च मात्र नभएर दुई देशबिचको सांस्कृतिक भावनाको उत्सवको रुपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

    ३ वटा नेपालका र ३ वटा भारतका नाटक मञ्चन गरिने ६ दिने महोत्सवको पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’को मञ्चन समेत गरिएको थियो । प्रज्ञा प्रतिष्ठानका अनुसार महोत्सवमा भारतीय संस्कृति मन्त्रालय, सङ्गीत नाट्य अकादेमी र राष्ट्रिय नाट्य विद्यालय, नयाँ दिल्लीका जिम्मेवार पदाधिकारी र प्रतिष्ठित कलाकारहरु सहभागी हुन काठमाडौँ आइपुग्ने क्रम जारी छ ।
    महोत्सवमा मञ्चन हुने नाटकमा माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ रहेका छन् । त्यसै गरी माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ मञ्चन हुनेछ। माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ मञ्चन हुनेछ । सबै नाटक दर्शकहरुले निःशुल्क हेर्न पाउने प्रज्ञा प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महराले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्