News Portal

  • इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश

    दोलागिरि संवाददाता२०८१ साउन २२
    ८२ पटक

    काठमाडौँ । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । नेपालले भोलि हुने बुधवार उपाधिका लागि प्रमुख दाबेदार भारतको सामना गनुपर्नेछ । उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ । इरानसँग लिग चरणमा भोगेको हारको बदला लिँदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले सुरुवात राम्रो गरेको छ। नेपाली टिमले आत्मविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५–२१ ले हराएको थियो ।

    नेपालटिमले खेलमा एक शून्यको अग्रता बनाएता पनि । दोस्रो सेट नाटकीय बन्यो । नेपालले एक समय बनाएको ६ अङ्कको अग्रता गुमाउँदा इरानले २४–२१ को अग्रता बनाइदियो। इरान सेट प्वाइन्टको लागि मात्र एक अङ्कको खोजीमा थियो । तर नेपालले लगातार तीन अङ्क जोडेर खेललाई २४–२४ मा पुग्न सफल भयो।संगठित प्रदर्शनमा नेपालले यो सेट २८–२६ ले जित्दै खेलमा दुई शून्यको स्पष्ट अग्रता बनायो । तेस्रो सेट सुरुवातमा प्रतिस्पर्धात्मक बन्न गयों ।

    तर पनि नेपालले इरानलाई मौका नै दिएन र २५–२० ले हराउँदै सोझो सेटको जित दर्ज गर्‍यो । नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका हुन् । अब बुधवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले जारी प्रतियोगिताको लिगमा भारतविरुद्ध पहिलो पटक जित हात पारिसकेको छ । फाइनल खेल बुधवार साँझ पाँच बजे हुनेछ । इरान र श्रीलङ्काबिच तेस्रो स्थानको लागि दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ ।

    प्रतिकृया दिनुहोस्