प्रमुख जिल्ला अधिकारी यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहानदेखि पुनः खोजतलास थालिएको हो । नेपाली सुरक्षाकर्मीसहित भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्सका १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ । भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको उनले बताए । शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको छ ।
यसअघि चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो । आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । यसअघि बससँगै हराएका ६२ मध्ये २५ शव भेटिएको भनिएकोमा एक शव नदीमा हामफालेकी पाल्पाकी एक महिलाको पुष्टि भएको यादवले जानकारी दिए ।
हालसम्म फेला परेका २४ मध्ये १८ शवको सनाखत भएको छ । जसमा १६ पुरुष र २ महिला छन् । ६ शवको सनाखत हुन बाँकी रहेको छ । सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच भारतीय नागरिकका हुन्।