
२६ भाद्र २०८३ भक्तपुर । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ पुनरावलोकनका लागि सुझाव संकलन कार्यशाला भक्तपुरमा सम्पन्न भएको छ।
जिल्ला प्याब्सन भक्तपुर तथा बागमती प्रदेश प्याब्सनको व्यवस्थापन र पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजनामा भएको कार्यशालामा विद्यालय शिक्षाको वर्तमान अवस्था, बदलिँदो शैक्षिक आवश्यकता, विद्यार्थीका अपेक्षा तथा भविष्यको शिक्षालाई व्यवहारिक, जीवनोपयोगी, समयसापेक्ष र गुणस्तरीय बनाउने विषयमा सहभागीहरूले सुझाव दिएका थिए।
कार्यशालामा पाठ्यक्रम विकास केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरे, पाठ्यक्रम विज्ञहरू, केन्द्रीय प्याब्सनका पदाधिकारीहरू, बागमती प्रदेश प्याब्सनका अध्यक्षलगायत पदाधिकारीहरू, संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक–कर्मचारी, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यशालामा सहभागीहरूले विद्यालय शिक्षाको पाठ्यक्रमलाई समयअनुकूल परिमार्जन गर्दै विद्यार्थीको आवश्यकता, व्यवहारिक ज्ञान, जीवनोपयोगी सीप तथा बदलिँदो शैक्षिक परिवेशलाई सम्बोधन गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिएका थिए।
जिल्ला प्याब्सन भक्तपुरले कार्यशालामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै प्राप्त सुझावहरू नेपालको विद्यालय शिक्षाको आगामी दिशाका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
शिक्षाको सुधारका लागि पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन आवश्यक रहेको भन्दै कार्यशालामा आएका सुझावहरूलाई आगामी पाठ्यक्रम निर्माण तथा परिमार्जनका क्रममा महत्वपूर्ण आधारका रूपमा लिइने अपेक्षा गरिएको छ।















