भरतपुर २६ फागुन । चितवनको भरतपुरमा शुक्रबारदेखि तीनदिने नवौं फर्मा एक्स्पो सुरु भएको छ । नेपालमा औषधि उत्पादन र यसको व्यवसयिक प्रवर्द्धन तथा विकासको लागि नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा एस्क्पो संचालन गरिएको हो ।
एक्स्पोको उद्घाटन शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाले गरे। एक्स्पोमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला) कच्चापदार्थ र नेपाली औषधि उद्योगले उत्पादन गर्ने औषधिसहित १६० वटा स्टल राखिएको छ । हाल नेपालमा ८४ वटा औषधि उद्योगहरु छन् । यी उद्योगहरुलाई उकास्ने र जिम्मेवार बनाउनेगरी सरकारले काम गरिरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जानकारी दिए ।
‘नेपाललाई चाहिने औषधिजन्य सामानहरु यहिका उद्योगहरुले उत्पादन गर्न सकेमा नेपाललाई ठूलो फाइदा हुन सक्छ,’ उनले भने,‘तर उद्योगहरुलाई प्रविधिमैत्री र नियमन गर्न दुवै पक्ष मिलेर अघि बढ्नुपर्छ ।’ तर नेपालका औषधि कम्पनीले उत्पादन गरेका औषधिले काम गर्दैन भनेर चिकित्सकहरुले नै बताउँदै आएकोले यसबारे उद्योगहरुले बढी ध्यान दिनुपर्ने उनको भनाइ छ । एपोनका अध्यक्ष महेश प्रधानले धराशायीले औषधि उद्योगको लागि सरकारले सहज वातावरण तय गरिदिनुपर्ने बताउँदै नेपाल यहीँका उद्योगमा उत्पादन भएका औषधीले आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताए । तर यहाँका उद्योगलाई चिनाउन उकास्न आवश्यक रहेको उनको भनाइ छ । हाल नेपालमा औषधि उद्योगमा निजि क्षेत्रले ७० अर्वभन्दा लगानी गरेको छ भने यसको बजार पनि निजि क्षेत्रमानै बढी निर्भर रहेको पाइन्छ ।