
भक्तपुर, असार १७। सूर्यविनायक नगरपालिकाको बालमैत्री स्थानीय शासन घोषणा अभियानअन्तर्गत वडा नं. ९ (नंखेल) लाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।
नेपाल सरकारले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सूचक पूरा गरेपछि आयोजित कार्यक्रममा लैङ्गिक तथा सामाजिक समावेशीकरण शाखा प्रमुख विजया लक्ष्मी सुवेदीले घोषणा–पत्र वाचन गर्नुभएको थियो। त्यसपछि नगर प्रमुख बासुदेव थापाले वडा अध्यक्ष भगवान खत्रीलाई घोषणा–पत्र हस्तान्तरण गर्नुभयो।
नगर प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरी आवश्यक ५१ सूचक पूरा गर्न सफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. ७ बाट सुरु भएको अभियान वडा नं. ९ र १० को घोषणा सम्पन्न भएसँगै वडास्तरमा पूरा भएको छ। अब बागमती प्रदेशको अनुगमन तथा निरीक्षण सम्पन्न भएपछि आगामी भदौभित्र सूर्यविनायक नगरपालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने तयारी रहेको उहाँले बताउनुभयो।
कार्यक्रमका सभापति तथा वडा नं. ९ का अध्यक्ष भगवान खत्रीले बालमैत्री वडा घोषणासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै यस अभियानमा सहयोग पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो।
उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले बालबालिका, महिला, युवा तथा ज्येष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै बालमैत्री वडा तथा पालिका घोषणा नगरको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी कार्यवाहक प्रमुख सुजाता वाडे बैद्यले सूर्यविनायक नगरपालिकालाई बालमैत्री नगर घोषणा अभियान सफलतापूर्वक अघि बढाएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
प्रमुख अतिथि नगर प्रमुख बासुदेव थापाले आफ्नो पहिलो कार्यकाल भौतिक पूर्वाधार विकासमा केन्द्रित भएको र वर्तमान कार्यकाल मानव विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउँदै बालमैत्री नगरपालिका घोषणा नगरवासीका लागि अर्को महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पाँच जना बालिकालाई पुष्पमाला अर्पण गरी गर्नुभएको थियो। मदरल्याण्ड स्कुलका छात्रा समृद्धि थापा र सरू बराइलीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य पूजा वराहले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सफल बनाउन वडा सदस्य विनय महत, सुनिल भुजेल, वडा सचिव अच्युतम खत्री, बाल सहजकर्ता सुजना थापा लगायतले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
घोषणा कार्यक्रममा मदरल्याण्ड स्कुल, सरस्वती माध्यमिक विद्यालय, राम आधारभूत विद्यालय, शिक्षा स्कुल, डिभेज प्रि–स्कुल तथा भुवनेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।
अभियानमा सहयोग पुर्याउने वडा बाल सञ्जाल, नगर बाल सञ्जाल, निजी तथा सामुदायिक विद्यालय, सञ्चारकर्मी, स्वास्थ्य संस्था, खानेपानी समिति, नेपाल रेडक्रस, सहकारी संस्था, मन्दिर विकास समिति, टोल सुधार समिति, सांस्कृतिक समूह तथा विभिन्न संघ–संस्थालाई वडाको तर्फबाट कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
बालमैत्री स्थानीय शासनको अवधारणालाई व्यवहारमा उतार्दै बालअधिकार संरक्षण, सहभागिता, सुरक्षा तथा समग्र बालविकासलाई संस्थागत गर्ने दिशामा सूर्यविनायक नगरपालिका एक कदम अगाडि बढेको आयोजकले जनाएको छ।













