News Portal

  • मध्यपुर थिमि नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजारको बजेट पारित

    दोलागिरि संवाददाता२०८३ आषाढ १०
    २४ पटक

    भक्तपुर,२०८३ असार १० । “हाम्रो कला, हाम्रो संस्कृति : मध्यपुर थिमि हाम्रो सम्पत्ति” मुख्य नारासहित   मध्यपुरथीमी नगरपालिकाको १४औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजार बराबरको बजेट पारित गरेको छ।
    नगरपालिकाको मूल नारा “हाम्रो कला, हाम्रो संस्कृति : मध्यपुर थिमि हाम्रो सम्पत्ति” लाई आत्मसात गर्दै सम्पन्न नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो। सभामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ ले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख विजय कृष्ण श्रेष्ठ ले बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो।
    पारित बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, सामाजिक सुरक्षा तथा सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाले गुणस्तरीय शिक्षा विस्तार, विद्यालय पूर्वाधार सुदृढीकरण तथा आधुनिक शैक्षिक वातावरण निर्माणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
    स्वास्थ्य क्षेत्रअन्तर्गत नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने नीति लिइएको छ।
    मध्यपुर थिमि आफ्नो समृद्ध सांस्कृतिक पहिचान, ऐतिहासिक सम्पदा तथा मौलिक सभ्यताका लागि परिचित नगर भएकाले ऐतिहासिक मठ–मन्दिर, पाटी–पौवा, बहाल–बही, देवस्थल तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुनःनिर्माण र प्रवर्द्धनका लागि विशेष कार्यक्रम तथा बजेट व्यवस्था गरिएको छ। साथै सांस्कृतिक पर्यटन प्रवर्द्धन गरी स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
    नगरसभाले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सुरक्षा तथा सामाजिक सहभागिता अभिवृद्धिका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति तथा आर्थिक रूपमा कमजोर वर्गको उत्थानका लागि विभिन्न सामाजिक विकास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
    कृषि उत्पादन वृद्धि, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा वातावरणमैत्री विकासका कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ। नगरभित्रका सडक, ढल, खानेपानी, सार्वजनिक भवन तथा अन्य पूर्वाधार विकासका योजनाहरूलाई निरन्तरता दिइने बताइएको छ।
    नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न विषयगत समितिका प्रतिवेदनमाथि व्यापक छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो। सभाको सफल सम्पन्नताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज तथा नगरवासीप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको छ।
    नगरपालिकाले पारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत समृद्ध, व्यवस्थित, सांस्कृतिक रूपमा सम्पन्न र नागरिकमैत्री मध्यपुर थिमि निर्माणको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

    प्रतिकृया दिनुहोस्