
भक्तपुर, असार १० — सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. २ अर्ब २६ करोड बराबरको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बुधबार सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा उपप्रमुखद्वारा आगामी आर्थिक वर्षको आय–व्यय अनुमान प्रस्तुत गरिएको हो।
नगरपालिकाले गत आर्थिक वर्षमा करिब रु. २ अर्ब २५ करोडको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब रु. १ करोडले वृद्धि भएको छ।
प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ रु. १ अर्ब २९ करोड १४ लाख १८ हजार (५७.१४ प्रतिशत) तथा चालुतर्फ रु. ९६ करोड ८५ लाख ८२ हजार (४२.८५ प्रतिशत) विनियोजन गरिएको छ। विकास निर्माण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चको हिस्सा उच्च राखिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले उपलब्ध स्रोत, आन्तरिक आम्दानी तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने स्रोतका आधारमा यथार्थपरक बजेट निर्माण गरेको जनाएको छ। बजेटको आकार अनावश्यक रूपमा बढाउनुभन्दा स्रोत र आवश्यकताबीच सन्तुलन कायम गर्ने नीति अवलम्बन गरिएको बताइएको छ।
नगरसभाको २०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम, बजेट, विभिन्न विषयगत समितिका प्रतिवेदन तथा आवश्यक विधेयकहरू सर्वसम्मत रूपमा पारित भएका छन्।
स्थानीय तह निर्वाचन २०७४ पछि नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा रहेको सूर्यविनायक नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरपालिकाका अनुसार पछिल्ला वर्षहरूमा अधिकांश नीतिगत निर्णयहरू सहमति र सहकार्यका आधारमा पारित हुँदै आएका छन्।
नगरपालिकाले स्थानीय तह गठनपछिको अवधिमा विकास निर्माण, सेवा प्रवाह, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा, सहकार्य र सहमतिलाई प्राथमिकता दिँदै काम गरिरहेको जनाएको छ।
नगर प्रमुख थापाले नगरवासीको अपेक्षा, आवश्यकता तथा नगरको समग्र विकासलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो।













