
६ असार २०८३ भक्तपुर । सिठि नखा पर्वको अवसर पारेर भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचन’ मेला सुरु भएको छ। स्थानीय उत्पादन, संस्कृति र परम्परागत खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित मेला असार ६ र ७ गतेसम्म सञ्चालन हुनेछ।
भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना, भक्तपुर पर्यटन विकास समितिको सहकार्य तथा ‘गो लोकल’ अभियानको संयोजनमा सञ्चालन गरिएको मेला भक्तपुर नगरपालिका–२ स्थित नःपुखु परिसरमा भइरहेको छ।

मेलामा स्थानीय घरेलु उत्पादन, हस्तकला, परम्परागत खाद्य परिकार तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न सामग्रीको प्रदर्शनी तथा बिक्री–वितरण गरिएको छ। आयोजकका अनुसार मेलाले स्थानीय उद्यमीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउनुका साथै भक्तपुरको सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सिठि नखा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। यस अवसरमा आयोजित मेलाले स्थानीय संस्कृति, मौलिक परिकार र उत्पादनलाई एकै थलोमा प्रस्तुत गर्दै आगन्तुकलाई भक्तपुरको जीवनशैली र सम्पदासँग परिचित गराउने विश्वास लिइएको छ।
उक्त मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नु भयको हो ।













