
काठमाडौं । जनवादी कलाकार आरोह सीको नयाँ र्याप गीत ‘Listen वालेन सरकार’ सार्वजनिक भएको छ। सार्वजनिक भएलगत्तै गीत सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्महरूमा चर्चा र बहसको विषय बनेको छ।
प्रधानमन्त्री Balendra Shah नेतृत्वको सरकारका पछिल्ला निर्णय, कार्यशैली तथा जनजीविकासँग सम्बन्धित विषयहरूलाई केन्द्रमा राखेर तयार गरिएको उक्त र्याप गीतले श्रोतामाझ विशेष चासो पाएको छ। गीतमा सुकुम्बासीमाथिको व्यवहार, भ्रष्टाचार र कालोधनको प्रश्न, विद्यार्थी संगठनमाथिको प्रतिबन्धलगायतका विषयहरू उठाइएको छ।
गीतले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउने नागरिकहरूको भावना अभिव्यक्त गरेको भन्दै धेरै श्रोताहरूले यसलाई जनआवाजको कलात्मक अभिव्यक्तिका रूपमा लिएका छन्। सामाजिक सञ्जालमा गीतका शब्द, प्रस्तुति र सन्देशबारे व्यापक प्रतिक्रिया आइरहेका छन्।
गीतको शब्द, संगीत, गायन तथा भिडियो अभिनय स्वयं आरोह सीले गर्नुभएको हो। गीतमा प्रयोग गरिएको “रातो भाले धुरीमा करायो, करायो । गरिबको चमेली निसापै हरायो ।” भन्ने लाइन भने जनवादी गायक Ramesh को चर्चित गीत गरिबको चमेली बोल्दिने कोही छैन बाट सापटी लिइएको बताइएको छ।
आरोह सीले र्यापमार्फत सामाजिक न्याय, जनअधिकार र राजनीतिक जवाफदेहिताका विषयहरू उठाउँदै आएको सन्दर्भमा ‘Listen वालेन सरकार’ लाई पनि समसामयिक राजनीतिक हस्तक्षेपका रूपमा हेरिएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले उल्लेख्य दर्शक तथा श्रोता आकर्षित गर्दै चर्चा र प्रशंसा बटुलिरहेको छ।













