News Portal

  • नगदेश डोजो च्याम्पियन बन्दै सम्पन्न भयो मध्यपुर मेयर कप कराते प्रतियोगिता

    दोलागिरि संवाददाता२०८३ आषाढ १
    २९ पटक

    भक्तपुर, ३१ जेठ। मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सञ्चालित ‘मध्यपुर मेयर कप कराते प्रतियोगिता–२०८३’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नगदेश डोजो प्रथम स्थान हासिल गर्दै च्याम्पियन बन्न सफल भएको छ।


    प्रतियोगितामा नगदेश डोजोले सर्वाधिक स्वर्ण पदक जित्दै उपाधिसहित ट्रफी उचाल्यो। त्यसैगरी सूर्यविनायक नगरपालिका तथा अरनिको मावि दोस्रो स्थानमा रहँदा तारकेश्वर नगरपालिका शंखडोल डोजो तेस्रो स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ।

    भक्तपुर सितेरियो कराते डो एसोसिएसनको संयोजनमा सम्पन्न प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा मध्यपुर थिमिका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल सितेरियो कराते एसोसिएसनका पूर्व अध्यक्ष दावा गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

    समापन समारोहमा वरिष्ठ मुख्य प्रशिक्षक दिपक श्रेष्ठ, समाजसेवी गणेशमान चक्रधर, सुजन बाग, भक्तपुर जिल्ला खेलकुद विकास समिति सदस्य विजय प्रजापति, पवन सिंबञ्जार, सुरेन्द्र धा श्रेष्ठ, समाजसेवी दिलकृष्ण प्रजापति तथा भ्रष्टाचारविरुद्धका अभियन्ता एवं स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य प्रेमध्वज लामा लगायतले विजेता खेलाडीहरूलाई पदक, प्रमाणपत्र तथा ट्रफी वितरण गर्नुभएको थियो।

    प्रतियोगितामा भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, अरनिको डोजो, दधिकोट डोजो, शंखडोल डोजो, नगदेश डोजो, दुवाकोट डोजो, झौखेल डोजो, फूलहाइट डोजो, यूआईपी डोजो, विद्या आर्जन डोजो तथा महेन्द्रग्राम डोजो गरी विभिन्न डोजो, विद्यालय र क्लबका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    विभिन्न तौल समूहमा सञ्चालन गरिएको प्रतियोगितामा तल्लो तहका प्रतिभावान खेलाडीहरूले आफ्नो उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए। प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, खेलाडीहरूको उत्साह अभिवृद्धि तथा कराते खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।
    कार्यक्रमको सञ्चालन रेफ्री राजुसिं बजिकोले गर्नुभएको थियो। प्रतियोगिताको सफल आयोजनाले मध्यपुर थिमि क्षेत्रमा खेलकुद गतिविधिलाई थप उर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

    प्रतिकृया दिनुहोस्