
काठमाडौं, जेठ ३० । सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को हस्तक्षेपविरुद्ध विप्लव नेतृत्वको नेकपा (माओवादी)ले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले भेला भई भारतीय हस्तक्षेपको विरोध गरेका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले सीमा अतिक्रमण बन्द गर, राष्ट्रिय स्वाधीनता रक्षा गरौं,विदेशी हस्तक्षेप मुर्दावाद” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै भारत तथा सरकारविरुद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनलाई सम्बोधन विद्यार्थी नेता नरेन्द्र सीले सुस्ता क्षेत्रमा भएको घटनालाई नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गर्दै सरकारले सीमाक्षेत्रको सुरक्षा र राष्ट्रिय हितको रक्षाका लागि स्पष्ट अडान लिनुपर्ने बताएका थिए। उनले सीमा अतिक्रमण तथा विदेशी हस्तक्षेपका घटनाप्रति सरकार मौन बसेको आरोप समेत लगाए छन्।
उल्लेखनीय छ, शुक्रबार नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ स्थित थारू टोल क्षेत्रमा भारतीय एसएसबीको टोली प्रवेश गरेको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए। स्थानीयको प्रतिकारपछि उक्त टोली फर्किएको बताइएको छ।
नेकपा (माओवादी)ले सुस्ता घटनाबारे सत्यतथ्य छानबिन गर्न, सीमाक्षेत्रमा नेपाली भूमिको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता हस्तक्षेप दोहोरिन नदिन सरकारसँग जोडदार माग गरेको छ। साथै, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको पक्षमा सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएको छ।













