
काठमाडौं, जेठ २९ — नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सुस्ता क्षेत्रमा भइरहेको भनिएको भारतीय सशस्त्र सीमा बल (SSB) को हस्तक्षेपविरुद्ध प्रतिरोधमा उत्रन सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्री बालेन्द्र साह ले गत जेठ १७ गते संसदमा दिएको विवादास्पद तथा राष्ट्रहितविपरीत अभिव्यक्तिपछि भोलिपल्ट अर्थात् जेठ १८ गते सुस्तामा भारतीय SSB ले हस्तक्षेप गरेको दाबी गरेका छन्।
विप्लवले उक्त घटनाको तत्काल विरोध गरिएको उल्लेख गर्दै सुस्ता क्षेत्रमा भारतीय पक्षको हस्तक्षेप अझै जारी रहेको आरोप लगाएका छन्। उनले आज पनि भारतीय SSB ले सुस्तामा हस्तक्षेप दोहोर्याएको दाबी गर्दै स्थानीय बासिन्दाले त्यसको प्रतिरोध गरेको बताएका छन्।
“आज पनि सुस्तामा भारतीय सशस्त्र सीमा बल (SSB) ले फेरि नाङ्गो हस्तक्षेप जारी राख्यो तर सुस्ताबासी नेपालीले प्रतिरोध गरेका छन्,” विप्लवले फेसबुकमा लेखेका छन्।
उनले नेपालको सीमाक्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपविरुद्ध सम्पूर्ण नेपाली जनता सचेत, संगठित र आन्दोलित हुनुपर्ने आवश्यकता औँल्याएका छन्। राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सीमाको सुरक्षाका लागि जनस्तरबाट प्रतिरोध आवश्यक रहेको उनको भनाइ छ।
विप्लवले सिमामा भइरहेको भनिएको भारतीय हस्तक्षेपविरुद्ध आन्दोलन र प्रतिरोधमा सहभागी हुन सम्पूर्ण देशवासीलाई हार्दिक आह्वान समेत गरेका छन्।
यद्यपि, विप्लवले उठाएका विषयमा नेपाल सरकार तथा भारतीय पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारत सीमा विवादसँग सम्बन्धित संवेदनशील क्षेत्रका रूपमा चिनिँदै आएको छ।













