
काठमाडौं । पूर्वमन्त्री तथा प्रदीप ज्ञवाली ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई संसद्, सञ्चारमाध्यम र जनताबाट उठेका प्रश्नहरूको तथ्यसहित जवाफ दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले अर्थमन्त्रीको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने बताएका छन्। उनले मिडियामा कमजोरी हुन सक्ने भए पनि तिनलाई लोकतन्त्रका पहरेदारका रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्।
ज्ञवालीले आर्थिक विधेयकमा गरिएको परिवर्तनका विषयमा उठेका प्रश्नहरू सामान्य राजनीतिक आरोप मात्र नभई संसद्को भूमिका, राजस्व संरचना र नीतिगत निर्णयसँग सम्बन्धित गम्भीर विषय भएको बताएका छन्। उनले उक्त परिवर्तनबाट सीमित व्यक्ति वा घरानाले लाभ लिएको आशंका सार्वजनिक रूपमा उठेकाले त्यसबारे स्पष्ट र तथ्यपरक जवाफ आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
“आफूमाथि उठेका प्रश्नहरूको तथ्यसम्मत उत्तर दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिनु उचित होइन,” ज्ञवालीले उल्लेख गरेका छन्। पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड चलाउन नजानेका’ भन्दै टिप्पणी गर्नु र आलोचक सांसदहरूप्रति धम्कीपूर्ण शैली अपनाउनु लोकतान्त्रिक संस्कृतिसँग मेल नखाने उनको भनाइ छ।
उनले कानुनविपरीत कार्य गरेको कुनै प्रमाण भए कानुनी प्रक्रियामार्फत कारबाही गर्न सकिने उल्लेख गर्दै सार्वजनिक आलोचनाको जवाफ तथ्य र प्रमाणका आधारमा दिनुपर्ने बताएका छन्।
ज्ञवालीले अन्त्यमा अर्थमन्त्रीका पछिल्ला अभिव्यक्तिहरूले विवादलाई समाधान गर्नुको सट्टा थप गम्भीर प्रश्नहरू जन्माएको टिप्पणी गरेका छन्। आर्थिक विधेयक र करसम्बन्धी व्यवस्थालाई लिएर सरकार, प्रतिपक्ष र विभिन्न सरोकारवालाबीच बहस चलिरहेका बेला उनको यो अभिव्यक्ति सार्वजनिक भएको हो।












