News Portal

  • श्री गणेश माविमा विद्यालय बस सेवा शुभारम्भ, नगर प्रमुख खत्रीद्वारा बस हस्तान्तरण

    दोलागिरि संवाददाता२०८३ जेठ २८
    २८ पटक

    भक्तपुर, जेठ २७ — चाँगुनारायण नगरपालिका–५, छालिङस्थित श्री गणेश माध्यमिक विद्यालय मा विद्यार्थीहरूको सुरक्षित, सहज तथा नियमित आवागमन सुनिश्चित गर्ने उद्देश्यले विद्यालय बस हस्तान्तरण तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।
    चाँगुनारायण नगरपालिकाको अनुदान सहयोगमा खरिद गरिएको विद्यालय बसको साँचो नगर प्रमुख जीवन खत्री ले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछे भक्त फोजू लाई हस्तान्तरण गरेपछि बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।
    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खत्रीले गुणस्तरीय शिक्षा तथा शैक्षिक पूर्वाधार विकासमा नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विद्यालय बस सेवाले विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि, समयपालनामा सुधार तथा शैक्षिक गतिविधि थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
    नगर प्रमुख खत्रीले बस सेवाबाट विद्यार्थी, अभिभावक र स्थानीय समुदायले प्रत्यक्ष लाभ प्राप्त गर्ने उल्लेख गर्दै विद्यालयलाई स्पष्ट कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो। आवश्यक सहयोगका लागि नगरपालिका सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उहाँले विद्यालय परिवारलाई बधाई तथा शुभकामना दिनुभयो।
    कार्यक्रममा नगर कार्यपालिका सदस्य जीवन नेपाली र वडा नं. ५ का वडा सदस्य प्रभुराम थापा ले शुभकामना मन्तव्य राख्दै विद्यालयको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछे भक्त फोजूले विद्यालय बस खरिद तथा व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, समुदाय तथा बजेट विनियोजनमा सहयोग पुर्‍याउने चाँगुनारायण नगरपालिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले विद्यालयको लक्ष्य योग्य, असल, इमान्दार र दक्ष जनशक्ति उत्पादन गर्नु रहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्षको साथ र समर्थन आवश्यक रहेको बताउनुभयो।
    अध्यक्ष फोजूले विद्यालयमा तहगत तथा विषयगत दरबन्दीको अभाव रहेको जानकारी दिँदै खेलमैदान व्यवस्थापन र चमेनागृह निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। ती योजनाहरू कार्यान्वयनका लागि नगरपालिकाबाट थप सहयोग प्राप्त हुने अपेक्षा समेत व्यक्त गर्नुभयो।
    विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर फोजू ले स्वागत मन्तव्यसहित धन्यवाद ज्ञापन गर्दै बस खरिद तथा व्यवस्थापनका क्रममा भएका विभिन्न विषयबारे स्पष्ट पार्नुभयो। साथै विद्यालय बस सञ्चालन नीति निर्माण गरी सेवा सञ्चालनमा अनुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    शिक्षक लक्ष्मीनारायण लिगल ले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरी र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णभक्त फोजू लगायतको उपस्थिति रहेको थियो।
    विद्यालय बस सञ्चालनसँगै दुर्गम तथा टाढाका क्षेत्रबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई विद्यालय आउन–जान थप सहज हुने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्