News Portal

  • मदरल्याण्ड स्कुलद्वारा ४.०० जिपिए ल्याउने छात्रा रोहिणी शिल्पकारलाई नगदसहित सम्मानित

    दोलागिरि संवाददाता२०८३ जेठ २५
    २९ पटक

    भक्तपुर, जेठ २५ — सूर्यविनायक नगरपालिका–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ।
    विद्यालयले एसईईमा ४.०० जिपिए प्राप्त गर्न सफल छात्रा रोहिणी शिल्पकार लाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो। विद्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रत्नबहादुर कटवाल ले रोहिणीलाई सम्मानपत्र प्रदान गर्नुभयो।
    विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजा ले रोहिणीलाई ५० हजार रुपैयाँ तथा छात्रा सरिना लामा लाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
    त्यसैगरी, सत्यशक्ति पुस्तक भण्डार का महेश थापा तथा विद्यालयका सह–प्राचार्य राधेश्याम केसी ले पनि रोहिणी शिल्पकारलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य सञ्जय खड्का ले विद्यार्थीको उत्कृष्ट नतिजामा विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको सहयोगको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो। साथै, विद्यार्थीको सफलताका लागि निरन्तर योगदान पुर्‍याउने शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।
    विद्यालयले यस वर्षको एसईई नतिजालाई आफ्नो गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै विद्यार्थीको क्षमता विकास, सिर्जनशीलता र शैक्षिक उत्कृष्टतामा थप जोड दिने जनाएको छ।

    प्रतिकृया दिनुहोस्