
भक्तपुर, असार २५। भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घको १६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले आगामी कार्यकालका लागि चन्द्रभक्त श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा अल्बर्ट बज्राचार्य, महासचिवमा बुद्धिकुमार मुस्याख्वा, कोषाध्यक्षमा राकेश प्रजापति तथा सह–कोषाध्यक्षमा तुल्शीलाल कवे चयन भएका छन्। साथै विभिन्न सदस्यहरू पनि निर्वाचित भएका छन्।
कार्यक्रममा सङ्घको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन, गुणस्तरीय सामग्री प्रवर्द्धन र संस्थागत सुदृढीकरणका विषयमा चर्चा गरिएको थियो।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले राजनीतिक स्थिरता, निजी क्षेत्रको प्रवर्द्धन र आर्थिक विकासका लागि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक रहेको बताउनुभयो।
नवनिर्वाचित अध्यक्ष चन्द्रभक्त श्रेष्ठ ले व्यवसायीहरूको एकता, क्षमता अभिवृद्धि र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।













