News Portal

  • धुलिखेल अस्पताल र जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थबीच समझदारीपत्र हस्ताक्षर

    दोलागिरि संवाददाता२०८३ जेठ २४
    १५ पटक

    काठमाडौं, नेपालमा मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनका लागि धुलिखेल अस्पताल र Johns Hopkins Bloomberg School of Public Health बीच समझदारीपत्र (एमओयू) हस्ताक्षर भएको छ।
    सम्झौतासँगै नेपालमा मातृ स्वास्थ्य, मुख स्वास्थ्यसम्बन्धी अनुसन्धान तथा समुदायमा आधारित स्वास्थ्य हस्तक्षेप कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ दुई संस्थाबीच सहकार्य सुरु भएको छ।
    यस सहकार्यमा नेपाल न्यूट्रिसन इन्टरभेन्सन प्रोजेक्ट–सर्लाही (एनएनआईपीएस) समेत साझेदारका रूपमा रहेको छ। परियोजनाअन्तर्गत संस्थाहरूबीच साझा लक्ष्य निर्धारण, कार्यान्वयन रणनीति निर्माण तथा अनुसन्धान संस्था र स्थानीय सरोकारवालाबीच समन्वय र सहकार्यलाई सुदृढ बनाइने जनाइएको छ।
    विशेषगरी गर्भवती महिलाहरूको मुख स्वास्थ्य सुधारका लागि अनुसन्धान, जनचेतना अभिवृद्धि तथा समुदायस्तरका कार्यक्रम सञ्चालनमा जोड दिइनेछ। यसले मातृ तथा शिशु स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्य र पोषणसम्बन्धी बृहत् कार्यक्रमसँग एकीकृत गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
    सम्झौताले नेपालका विभिन्न समुदायमा रहेका संवेदनशील तथा जोखिममा रहेका समूहहरूको स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा मुख स्वास्थ्यलाई एकीकृत रूपमा अघि बढाउने यस पहललाई नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
    धुलिखेल अस्पताल र जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थबीचको यो सहकार्यले अनुसन्धान, ज्ञान आदानप्रदान तथा समुदायमा आधारित स्वास्थ्य सेवाको विस्तारमार्फत नेपालको स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्