News Portal

  • आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रमगरि मनाइँदै

    दोलागिरि संवाददाता२०८३ जेठ २२
    ३७ पटक

    काठमाडौं, जेठ २२ – ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस २०२६ मनाइँदैछ।
    दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। कार्यक्रममा विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ।
    वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीहरूको सामना तथा प्रकृतिमैत्री विकासको प्रवर्द्धनका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको हो। दिवसको अवसरमा देशभर वृक्षारोपण, सरसफाइ, जनचेतनामूलक र वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ।
    विश्व वातावरण दिवसको सुरुआत सन् १९७२ मा स्विडेनको स्टकहोममा आयोजित संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलनबाट भएको हो। उक्त सम्मेलनको स्मरणस्वरूप संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सन् १९७३ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।
    नेपालमा भने सन् १९८० र १९९० को दशकदेखि विश्व वातावरण दिवस संस्थागत रूपमा मनाउन थालिएको पाइन्छ। सुरुवाती चरणमा सरकारी निकाय र सीमित गैरसरकारी संस्थाहरूको सक्रियतामा कार्यक्रम हुने गरे पनि अहिले विद्यालय, स्थानीय तह, युवा क्लब तथा समुदायस्तरमा समेत विभिन्न संरक्षणमुखी गतिविधि सञ्चालन गरिँदै आएका छन्।
    विश्व वातावरण दिवस मनाउनुको मुख्य उद्देश्य मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउनु तथा वातावरण संरक्षणप्रति विश्वव्यापी चेतना फैलाउनु हो। वन विनाश, बढ्दो प्रदूषण, प्लास्टिकजन्य फोहोरको अत्यधिक प्रयोग र जलवायु परिवर्तनका कारण पृथ्वीको वातावरणमा गम्भीर असर परिरहेको सन्दर्भमा प्राकृतिक स्रोतहरूको दिगो उपयोग तथा भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्न सबैलाई जिम्मेवार बनाउने लक्ष्यसहित यो दिवस मनाइँदै आएको छ।
    विज्ञहरूले वातावरणीय संकट दिनप्रतिदिन गहिरिँदै गएको भन्दै प्रकृतिमैत्री विकास, हरित अर्थतन्त्र तथा दिगो जीवनशैली अपनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन्।

    प्रतिकृया दिनुहोस्